काठमाडौं—इलामको पर्यटकीय स्थल कन्याम चिया बगानका साथै इलाम बजारको दृष्यलाई समेट्दै इलामेली कलाकारहरुले तयार पारेको ‘आउ कान्छी घुम्नलाई इलाम बजार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
इलाम निवासी काजी रानाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा गायक ताराप्रकाश लिम्बु र गायिका सुनिता थेगिमले स्वर भरेका छन् । यसअघि विभिन्न चलचित्रमा कला निर्देशकको काम गरेका राना चित्रकारसमेत हुन् । उनले चलचित्र ‘१२ सत्ताइस’ तथा केही वृत्तचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेका छन् ।
भिडियोमा भावना खपाङ्गी मगर, बिमला राना, आशिका शक्तेन राई, रोशित कर्मचार्य, जर्मन नेम्बाङ र विवश राईको मुख्य अभिनय रहेको छ । जसमा इलामको युनिभर्सल डान्स सेन्टर, युनिक डान्स सेन्टर, भिभा डान्स सेन्टर तथा गाउँलेको पनि सहकार्य रहेको छ ।
म्युजिक भिडियोमा उर्मिला श्रेष्ठले कोरियोग्राफी गरेकी छन् । साविकको बरबोटे गाविस, तोरीबारी, माल्बासे निवासी हाल युकेमा बसोबास गर्दै आएका खड्ग लुङ्गेलीको शब्द रचनामा ताराप्रकाश लिम्बुले संगीत भरेका हुन् । लुङ्गेली ब्रिटिस गोर्खा सैनिक हुन् । यसअघि लुङ्गेलीकै शब्द रचना रहेको ‘नबिर्सनु है’ बोलको गीत सार्वजनिक भएको थियो । सो गीतमा पनि ताराप्रकाश लिम्बुकै संगीत संयोजन थियो भने मेलिना राईले स्वर दिएकी थिइन् ।
प्रतिक्रिया