काठमाडौं—सत्तासाझेदार दल नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आइतबार (चैत १०) अपराह्न करिब पौने ४ बजे बैठक सुरु भएको हो । आइतबारै दिउँसो १ बजे बस्ने गरी बैठकको समय निर्धारित थियो । निर्धारित समयभन्दा पौने तीन घण्टा ढिलो गरी बैठक सुरु भएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमै बैठक बसेको छ । भ्रातृसंस्थाको म्याद थप वा महाधिवेशनको मिति सार्ने भन्ने विषयमा बैठकमा छलफल गरिँदै छ । बैठक सुरु हुनुअघि नेताहरूले छुट्टाछुट्टै छलफल गरेका थिए ।
सभापति शेरबहादुर देउवाले भने डडेलधुराका कांग्रेस नेताहरूसँग लामो छलफल गरेका थिए । सभापति देउवा दिउँसो २ नबज्दै कार्यालय पुगेका थिए । भ्रातृसंस्थाहरूको महाधिवेशन गराउन यही चैत मसान्तसम्मको समयसीमा तोकिएको थियो । तर, अधिकांश मुख्य भ्रातृसंस्थाको महाधिवेशन नहुने भएपछि नयाँ पदाधिकारी नियुक्त वा म्याद थप गर्ने भन्नेबारे छलफल गरिँदै छ ।
प्रतिक्रिया