काठमाडौं—सोलुखुम्बुमा दोश्रो पिके चौँरी पर्यटन महोत्सव हुने भएको छ । याक तथा चौँरी व्यवसायी संघ नेपालले सोलुखुम्बुमा चौँरी महोत्सव गर्ने भएको हो । लोपुन्मुख चौँरी पालन व्यवसायको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी बैशाख ७, ८ र ९ गते ३ दिन चौँरी पर्यटन महोत्सव हुने भएको हो ।
संघका अध्यक्ष थुतोप दोर्जे शेर्पाका अनुसार ‘चौंरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौंरीपालन घट्दो क्रममा छ । यसलाई बचाउन महत्सवले केही टेवा पुग्ने विश्वास छ ।’ महोत्सवमा चौरीको प्रदर्शनका साथै स्थानीय खानाका परिकार, चौरीको दुधबाट बन्ने परिकारहरू जस्तै छुर्पी, घ्यू चिज, चमर लगायत प्रदर्शन एवं बिक्री का लागी राखिने छ ।
महोत्सवले चौँरी पालन व्यवसायलाई प्रवद्र्धन गर्ने तथा चौँरी पालक किसानको उत्पादनलाई बजारीकरण गर्न मद्दत गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० टाप्टिङ, लिखुपिके गाउँपालिका र खिजीदेम्बा गाउँपालिकाको सिमानामा पर्ने लामुजेमा महोत्सव गर्ने तयारी भैरहेको संघले जनाएको छ ।
महोत्सवमा ओखलढुङ्गाको देम्बा लामुजे याक तथा चौँरी कृषक सङ्घ का साथै सोलुखुम्बुका उल्लेख्य चौँरीपालक व्यवसायी एवं कृषकहरूका गरि करिव एक सय याक, नाक तथा चौँरीहरु जम्मा हुने अनुमान आयोजकले गरेको छ । लोपोन्मुख चौँरीपालन व्यवसायलाई जोगाइ राख्दै हिमाली पशुपालनको साख कायम राख्न यो महोत्सव अत्यन्तै सहयोगी बन्ने सङ्घको भनाई छ ।
२०७७ सालमा स्थापना भएको सङ्घले जिल्लामा लोपोन्मुख चौँरी पालन व्यवसायलाई पुस्तान्तरण गर्ने, व्यवसायीहरूको हकहितका लागी नीति नियम बनाउने निकायमा खबरदारी तथा दवाव दिने गरि काम गरिरहेको छ । साथै सङ्घले बैशाख ७ गते याक दिवस मनाउने गरि राष्ट्रिय रुपमा पहल गरिरहेको पनि जनाइएको छ । महोत्सवको अवसरमा मिनि म्याराथन प्रतियोगिता समेत हुने छ
प्रतिक्रिया