केही क्याम्पसहरु बाहेक गत मंगलबार देशभरका त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन सम्पन्न भयो । योसँगै निर्वाचनको नतिजा आउने क्रम जारी छ । विद्यार्थीहरुबीच विवाद हुँदा झडपको सामनामात्र गर्नु परेन चुनाव स्थगितदेखि तालाबन्दीसम्म (स्ववियु) निर्वाचनले बेहोर्नु प¥यो । विद्यार्थी संगठनको चुनावमासमेत दलीय तथा गुटगत भिडन्तले (स्ववियु) निर्वाचनले कस्तो सन्देश प्रवाह ग¥यो त ?
चुनावी प्रतिस्पर्धामा प्रतिद्वन्द्वीहरुबीच भनाभन हुनु, वादविवाद वा सामान्य तनाव हुनु र केही समय चुनावी प्रक्रिया रोकिनु सामान्य मान्न सकिन्छ । विगतमा झै यस वर्ष पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन यस्ता घटनाहरुबाट अछुतो हुन सकेन । चैत्र पाँच गते सम्पन्न (स्ववियु) चुनावमा यस्ता दृश्यहरु विभिन्न क्याम्पसमा देख्न पाइयो ।
(स्ववियु) निर्वाचनलाई दलगत प्रतिष्ठा नै बनाएर प्रस्तुत हुँदा चुनावमा होमिएका विद्यार्थी नेताहरुबीच तानातान र वादविवाद मात्र भएन कि खुलेआम भिड्न भ्याए । चक्कु प्रहारदेखि टाउको फुटाइकासम्म भिडियोहरु सामाजिक सञ्जालमा छरपष्ट छन् ।
विद्यार्थीहरुबीचको विवादका कारण उपत्यकासहित धेरै क्याम्पसहरुमा चुनाव हुन सकेन । केहीमा पहिल्यै तालाबन्दी गरिँदा निर्वाचन हुन सकेन । ती कलेजमा लागेको तालाबन्दी अझै खुलेको छैन । उपत्यकाकै ठूला क्याम्पसहरुमा निर्वाचन हुन सकेन । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमध्ये करिब चार सय क्याम्पसमा मात्र चुनाव भएको छ । चुनाव सकिएसँगै (स्ववियु) निर्वाचनको मत परिणाम विद्यार्थी संघ संगठनहरुका लागि मात्र नभई राजनीतिक दलहरुका लागि समेत प्रतिष्ठाको विषय बनेको छ । सत्तारुढ कांग्रेस एमाले निकट विद्यार्थी संगठन नेविसंघ र अनेरास्ववियु, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी मात्र होइन (स्ववियु) को चुनावमा स्वतन्त्रको समेत लहर देखिएको छ ।
जसरी गत स्थानीय तहमा काठमाडौं महानगरमा बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकामा हर्क साम्पाङको उदय भयो त्यसरी नै स्ववियु चुनावमा कांग्रेसनिकट नेविसंघ र एमाले निकट अनेरास्ववियु सहित पुराना दलहरुलाई धक्का दिँदै स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । विभिन्न ४ वटा क्याम्पसमा स्वतन्त्र उम्मेदवारले बाजी मारेका छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, चितवन इन्जिनियरिङ क्याम्पस र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
अझ रोचक स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका केही त राजनीतिक पार्टीमै प्रवेश गर्न भ्याएका छन् । त्यसरी जित्नेहरुमध्ये केही पार्टी निकट नै रहेको खुल्न आएको छ । चितवनको चितवन इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र रूपमा (स्ववियु) सभापतिमा निर्वाचित प्रज्वल अधिकारी अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । एकातिर सत्तारुढ दलका विद्यार्थी संगठनलाई धक्का दिँदै उनीहरुकै हाराहारीमा मत बटुलेको माओवादी निकट अखिल क्रान्तिकारीबाट जितेका विद्यार्थीहरु पार्टीमै समाहित हुँदा उत्साहित बनेका छन् । ८ वटा आंगिकसहित ८४ वटा क्याम्पसका चुनावपछि उनीहरु दंग छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले अखिल क्रान्तिकारीबाट विजयी भएका विद्यार्थी नेताहरुलाई फोन गर्दै बधाई दिन व्यस्त छन् ।
प्रभावकारी विद्यार्थी संगठन र सत्ताको ओतमा रहेको नेविसंघ र अनेरास्ववियु भने स्ववियु निर्वाचनको नतिजाप्रति सन्तुष्ट छैनन् । अपेक्षाकृतरुपमा जित हासिल गर्न नसकेका उनीहरु अब उपत्यकाका ठूला क्याम्पसहरुमा कसरी विरासत जोगाउने भन्नेका केन्द्रित भएका छन् । सत्तारुढ कांग्रेस एमाले निकट विद्यार्थी संगठनले आफ्नै गढ क्षेत्रमा चुनाव हारेका छन् । जसले उनीहरुलाई नमिठो धक्का लागेको छ ।
यतिसम्म कि नेविसंघमा त एउटा गुटले अर्काे गुटलाई पराजित गर्नेसम्मको अन्तरघाती गतिविधि गर्न भ्यायो । पद्मकन्या क्याम्पस (पीके)को स्ववियु सभापतिमा नेविसंघको बागी प्यानल विजयी हुनुलाई यसको उदाहरण मान्न सकिन्छ । कांग्रेस महामन्त्री गगन थापा निकट भूपेस्वरी ऐर (भूपि)ले सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूह समर्थित पूर्णिमा परियारलाई पराजित गर्दै चुनाव जितेकी हुन् । स्ववियु चुनावमा देखिएको दलहरुबीचको लफडालाई लिएर सडकदेखि सदनसम्मै विरोधसमेत कायम छ ।
वैकल्पिक शक्ति भनिने दलहरुले स्ववियु चुनावमा भाग नै लिएनन् । फलतः स्ववियु चुनावमा दलहरुले देखाएको हर्कतविरुद्ध वैकल्पिक शक्तिहरुले सदनमै आवाज उठाए । स्ववियु चुनावमा उम्मेदवार नै उठाएका अन्य दलहरुले पनि खासै अपेक्षाकृत नतिजा हासिल गर्न सकेनन् । तर, उपनिर्वाचनको नतिजाले उत्साहित माओवादी भने यो स्ववियु निर्वाचनको नतिजाले थप हौसिएको छ ।
चुनाव भएका क्याम्पसहरुमा कांग्रेस एमालेकै गढ भत्काउँदै माओवादी निकट अखिल क्रान्तिकारीले राम्रो प्रदर्शन गर्दा ०८४ को निर्वाचनमा पार्टीलाई समेत एक्लै भिड्नु पर्ने सन्देश प्रवाह गरेको रुपमा माओवादी नेताहरुको बुझाइ छ । कांग्रेस एमाले सत्तामा भएका कारण प्रतिपक्षी दलका रुपमा माओवादीले त्यसको फाइदा उठाएको र उच्च शिक्षा अध्ययन गर्ने युवाहरुको रुझान कता जाँदैछ भन्ने संकेत गरेकाले पार्टी नेतृत्वलाई समेत उत्साहित बनाएको देखिन्छ । यद्यपि, अन्य निर्वाचन सरह स्ववियु चुनावमा पनि कांग्रेस, एमाले र माओवादी निर्विकल्प देखिए ।
प्रतिक्रिया