एक सातादेखि प्रदर्शनरत नेपाली चलचित्र अञ्जिलाको चर्चा अहिले सर्वत्र चुलिएको छ । एउटा राष्ट्रिय खेलाडीले गरेको सङ्घर्ष अनि त्यसबाट प्राप्त सफलतालाई चलचित्रको मध्यमबाट भावनात्मक रुपमा प्रस्तुत गर्दा फिल्मलाई सबैले रुचाएका त छन् नै व्यवसायिक हिबासले पनि सफल हुँदै गएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित बायोपिक चलचित्र अञ्जिलाको सफलताको ग्राफ बढिरहेको छ । होलीलाई लक्षित गरेर गत फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्मलाई दर्शकहरूले साथ दिँदा हलहरूले शो संख्या पनि दिन प्रतिदिन बढाएका छन् ।
एक सय पाँचदेखि सुरु भएको अञ्जिलाले अहिले हलहरूमा दुई सयभन्दा बढी शो प्राप्त गर्दा फिल्मको लोकप्रियतालाई स्पष्ट दर्शाएको छ । कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर काठमाडौं छिरेकी अञ्जिलाको प्रेरणादायी जीवनयात्रालाई चलचित्रमा देखाइएको छ । अञ्जिलाले फुटबलमा गरेको संघर्ष र राष्ट्रिय महिला टोलीको कप्तानीसम्मको उनको यात्रालाई पर्दामा हेर्दा दर्शकहरू भावुक बनेका छन् ।
लाज शरणम्, होस्टेल ३ र राजागञ्ज जस्ता चलचित्रहरु हलमा प्रदर्शन भइरहेको अवस्थामा आउट ल सँगै प्रदर्शनमा आएको अञ्जिलाले तीन दिनमै दुई करोड सात लाख रुपैयाँ ग्रास कलेक्सन गर्न सफल भइसकेको छ । चलचित्रको प्रचारप्रसारमा राष्ट्रिय फुटबल टिमकी प्रीति राई लगायत खेलाडीहरू पनि देखिँदा अञ्जिलालाई थप फाइदा पुगेको छ । त्यस्तै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पनि आफू मातहतका सबै सङ्घ संस्थालाई अञ्जिला हेर्न र प्रचारमा सघाउन पत्राचार नै गरेको छ ।
एन्फाले पत्र नै लेखेर सातै प्रदेशका फुटबल सङ्घ, ४८ जिल्ला फुटबल सङ्घ, सङ्घमा आबद्ध रेफ्री, खेलाडी, प्रशिक्षक र महिला फुटबल सङ्घसहित ४ सङ्घ, शहिद स्मारक ए, बी, सी डिभिजनका क्लबलाई चलचित्रको प्रचारप्रसारमा सहयोग गर्न अपिल गरेको छ । अञ्जिलामार्फत खेल क्षेत्रमा लाग्न चाहनेहरुमा प्रेरणात्मक सन्देश प्रवाह हुने भएकाले विद्यालयहरूले पनि विद्यार्थीलाई हलसम्म पु¥याइरहेका छन् । यसका साथै सँगै वर्ड अफ माउथ पनि सकारात्मक हुँदा चलचित्र अझै चल्नेमा निर्माण पक्ष ढुक्क छन् ।
बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको चलचित्रमा स्वयम् अञ्जिलाले नै मुख्य भूमिका निर्वाह गर्दा पनि अभिनयलाई जिवन्त बनाएको छ । इलामको एउटा सानो गाउँको मध्यम परिवारमा जन्मिएर कठिनाइसँगै राष्ट्रिय महिला फुटबल टोलीलाई नेतृत्व गर्ने स्थानसम्म आइपुग्दाको सङ्घर्षपछिको सफलतालाई चलचित्रमा देखाइएको छ । जुन सबै दर्शकहरूको मनमष्तिष्कमा बस्न सफल भएको छ ।
अञ्जिलाले गड फादर मानेका प्रेमकुमार श्रेष्ठले नै उनलाई इलामदेखि काठमाडौं ल्याएर विभागीय टोली सशस्त्र प्रहरी बलमा फुटबल खेलाएका थिए । तिनै अञ्जिलाका गड फादर तथा अञ्जिला चलचित्रका निर्माता श्रेष्ठले चलचित्रबाट प्राप्त हुने मुनाफाबाट अञ्जिलाका लागि घर निर्माण गरिने बताइसकेका छन् ।
चलचित्र अञ्जिला कुनै पनि खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक चलचित्र हो । यसअघि खेलाडी र खेल क्षेत्रसँग सम्बन्धित केही चलचित्र बने पनि खेलाडीकै जीवनमा आधारिक अञ्जिला भने पहिलो बायोपिक चलचित्र भएको निर्माण टिमको दाबी छ ।
यस्ता चलचित्रले कमै सफलता प्राप्त गर्ने भएकाले चलचित्र निर्माण गर्नुलाई नै चुनौती मान्ने गरिन्छ । तर, राष्ट्रिय खेलाडी त्यसमाथि पनि एउटी युवतीको सङ्घर्ष कथा भएका कारण भावनात्मक रुपमा चलचित्रले दर्शकको मन छुँदा राम्रो व्यापार गर्न सफल भएको छ । अञ्जिलाले जीवनमा गरेको निरन्तरको मेहनत, आत्मविश्वास र धैर्यताले साकार रुप लिएको छ । राष्ट्रको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फहराउने खेल र खेलाडीहरूले नै हुन् । तर, अहिले त्यस्ता कयौं प्रतिभावान् खेलाडीहरू आफ्नो भविष्य नदेखेर खेल जीवनबाट टाढा हुन बाध्य भएका छन् । यस्ता खेलाडीको जीवनमा आधारित चलचित्र निर्माण र सफलताले अन्य खेलाडीहरूलाई पनि प्रेरणा मिल्न सक्नेछ ।।
प्रतिक्रिया