राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बोल्ने समय छिट्टै आउने बताएका छन् । आफूले बोलेपछि धेरैको बोली बन्द हुने उनको भनाइ छ ।
लामिछानेले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको टिप्पणी समेत गरे । लामिछानेले नेपालको भविष्य युवाको हातमा आउँदै गरेको भन्दै गम्भीर हुने समय रहेको जिकिर गरे ।
यसैबीच, रवि लामिछानेले शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् ।
कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा गएको माघ ३ गते काठमाडौं अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएको थियो ।
उक्त आदेश चित्त नबुझेको र त्यो बदरको माग गर्दै दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनेर लामिछानेले निवेदन दर्ता गराएका हुन् ।
अब उनले चितवनको सहारा सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले गरेको ५४ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध मात्र उच्चमा निवेदन दिन बाँकी छ । लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।
पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि हालसम्म मुद्दा दर्ता गरिएको छैन ।
प्रतिक्रिया