काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गण्डकी प्रदेश सभापति राजन गौतमलाई कारबाही माग गर्दै पार्टीका कार्यवाहक महामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीलाई पत्र आएको छ।
रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठीसहित १५ सदस्यले संयुक्त रूपमा हस्ताक्षर गरी पार्टीको केन्द्रीय कार्यालयमा पठाएको पत्रमा प्रदेश सभापति गौतमका क्रियाकलापले पार्टीलाई ठूलो क्षति पुगिरहेकाले उनलाई सो पदबाट हटाउन माग गरिएको छ।
पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा गण्डकी प्रदेश समिति सभापति श्री राजन गौतमज्यूको क्रियाकलाप, अभ्यास र व्यवहार, हाम्रो पार्टीको विधि(विधान, मूल्य र मान्यताविपरीत साथै स्वेच्छाचारी ढंगले चलाउँदै आएकोले यस्ता गतिविधिले पार्टीलाई प्रदेशमा ठूलो क्षति पुग्दै गएको र आगामी दिनमा थप क्षति पुग्ने देखिएकाले उहाँलाई पार्टीको राइट टु रिकल वा कुनै विधिबाट जिम्मेवारी हेरफेर गरी कारबाही गरी पाऊँ भनी तपसिलबमोजिमका जिम्मेवार साथीहरूले सहीछाप गरी यो निवेदन संयुक्त रूपमा पेस गर्दछौँ र साथै उहाँको विषयमाथि निर्णय नहुँदासम्म हामीले गर्दै आएका जिम्मेवारीमा निष्क्रिय रहने कुराको समेत संयुक्त रूपमा अवगत गराउँदछौँ।’
पत्रमा रास्वपा गण्डकी प्रदेशका महामन्त्री नवीन त्रिपाठी, अनुशासन आयोग प्रमुख योगेन्द्र केसी, संगठन विभाग सचिव एकराज न्यौपाने, कोषाध्यक्ष लक्ष्मी अधिकारीसहित प्रदेशस्तरका १५ सदस्यले हस्ताक्षर गरेका छन्।
पत्रमा हस्ताक्षर गर्ने अन्यमा रास्वपा गण्डकी प्रदेश समितिका कोषाध्यक्ष लक्ष्मी अधिकारी तथा सदस्यहरू हेम सुवेदी, अशोक खड्का, अनीषा अधिकारी (कृष्ण कु.), शीतला थापा, विनोद विक, समिउन निशा, गीता सुनार, राममाया बस्ताकोटी, योगराज पौडेल, विकास भुर्तेल र डिल्लीराम कोइराला छन्।
प्रतिक्रिया