अन्तरिक्ष यात्रीद्वय सुनीता विलियम्स र बुच विलमोर अन्ततः ९ महिना पछि पृथ्वीमा फर्किएका छन् । स्पेस एक्सको अन्तरिक्ष यानले उनीहरुलाई पृथ्वीमा फर्काएको हो ।
नौ महिना अन्तरिक्षमा बस्न बाध्य भएका अन्तरिक्ष यात्रीहरु पृथ्वीमा आइपुगेका छन् । नासाका अन्तरिक्ष यात्री बुच विलमोर र सुनीता विलियम्स नौ महिनापछि पृथ्वीमा आइपुगेका हुन् । उनीहरू स्पेस एक्स क्याप्सुलमार्फत पृथ्वीमा फर्किएका हुन् । फ्लोरिडाको तटीय क्षेत्रमा अवतरण गराउने क्रममा उनीहरूका लागि चार वटा प्यारासुट खोलिएको थियो ।
अवतरणपछि बुच र सुनीता हात हल्लाउँदै मुस्कुराउँदै स्पेस एक्स ड्रागनबाट बाहिर निस्किएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ । उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ ।अमेरिकी निर्वाचनमा मतदान ।
बुच र सुनीता अमेरिकी नागरिक हुन् । उनीहरूले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए । नासाले उनीहरूलाई चुनावमा सहभागी हुनका लागि सहज बनाइदिएका थिए । मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिसन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो ।
ती अन्तरिक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडिएको थियो । त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिसन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइएको थियो । यता सुनीता र बुचको अन्तरिक्षमा बसाइँ सामान्य छ महिनाको बसाइँभन्दा लामो थियो । तर यो सन् २०२३ मा अमेरिकी अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको रेकर्ड र रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभले मिर स्टेशनमा राखेको ४३७ दिनको विश्व रेकर्डभन्दा कम हो ।
आठ दिनका लगि गएका यात्री नौ महिना लामो समयसम्म आफ्नो परिवारबाट टाढा रहँदा यो मिसनले धेरैको ध्यान खिचेको छ । पृथ्वीबाट ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्ष यात्रीहरूको जीवन निकै नै चाखलाग्दो हुने गरेको छ। उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए ।
५९ वर्षीया सुनीता र ६२ वर्षीय बुचले अन्तरिक्ष केन्द्रमा कार्यरत मिसनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ‘स्पेशवाक’हरू समेत गरेका थिए । गत जनवरी मध्यतिर सुनीता आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किएकी थिइन्। त्यसै महिनाको अन्त्यतिर उनी र बुचसँग पनि बाहिर निस्किइन् । उनीहरूले गरेका मुख्य काममा केन्द्रको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।
प्रतिक्रिया