Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

फुच्चेको ट्रकमा २५ करोड लोड, सुन तस्करसँग ‘नेक्सस’


काठमाडौंको टोखा नगरपालिकास्थित झोरमा २५ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित पक्राउ परेका ट्रक चालक कुसान लामालाई सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ का लामाले चलाएको ट्रकको सिट पछाडि फल्स बटम बनाएर राखिएको अवस्थामा प्रहरीले सो रकम बरामद गरेको हो । पक्राउ परेका ट्रक चालक लामाका साथै यति ठूलो रकमको नेक्ससबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

सोमबार मध्य राति करिब ११ बजे काठमाडौंको टोखाबाट चीनको केरुङतर्फ जाँदै गरेको मालवाहक ट्रकमार्फत विभिन्न देशका मुद्रा अवैध रुपमा ओसारपसार भइरहेको भन्ने विशेष सूचना काठमाडौं अपराध अनुसन्धान कार्यालयले पाउँछ । सोही आधारमा प्रहरीले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्दै गरेकोबा ७ ख १६२५ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा सुरुमा ट्रकका ड्राइभर सामान्य रुपमा प्रस्तुत हुन्छन् ।

तर जब प्रहरीले सुक्ष्म रुपमा ट्रकलाई खानतलासी गर्छ तब गाडीको बोनेटमाथि फल्स बटम बनाएर राखिएको ३ लाख २० हजार ८१५ अमेरिकी डलर र १३ लाख ७४ हजार १ सय ५० युरोअर्थात नेपाली रकम २५ करोड १९ लाख २४ हजार ९ सय ५०लुकाएको अवस्थामा बरामद हुन्छ । यति ठूलो रकम बरामदले प्रहरीसमेत अचम्ममा पर्छ । योसँगै फुच्चे भनेर चिनिने ४३ वर्षीय कुसाङ लामा पक्राउ पर्छन् ।

सानो कदको ज्यान झट्ट हेर्दा कसैले विश्वास नगर्ने ट्रकका मालिकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का कुसाङ लामा आठ वर्ष अघि पनि पक्राउ परेका थिए ।

२०७३ पुस १३ गते चीनबाट सात केजी सुन नेपाल भित्र्याउँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए। उनी त्यस बेला राजस्व अनुसन्धान विभागले मुद्दा चलाएर पाँच वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन् । उनको पृष्ठभूमि हेर्दा सुन तस्करहरुसंग राम्रै साठगाँठ भएको देखिन्छ । प्रहरीले पनि प्रारम्भिक अनुसन्धानका क्रममा अहिले बरामद रकमको सम्बन्ध सुनसँग जोडिएको निष्कर्ष निकालेको छ । रसुवाको केरुङ नाका हुँदै सीमापार गरेर अवैध रकम चीन पुग्ने र उताबाट सुन खरिद गरेर ल्याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा कुसाङले कसैको नाम नभनेका तर दुई जना व्यक्तिले सामान रसुवा पु¥याउन भनेको आधारमा आफूले पु¥याउन खोजेको सम्म बताएको अनुसन्धानमा संलग्न प्रहरीले बताएका छन् ।यति ठुलो रकम सुन तस्करीकै लागि हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

कुसाङ यसअघि पनि सुन तस्करीमै पक्राउ परेको हुँदा यसमा थप बल पुगेको देखिन्छ । प्रहरीका अनुसार यो बरामद रकम हालसम्मकै उच्च हो । यति ठुलोरकम कहाँबाट ल्याइएको हो ? केका लागि लगिँदै थियो ?भन्ने विषय अनुसन्धान गरेर मात्रै भन्न सकिने प्रहरी अधिकारीहरु बताउँ छन् । पक्राउ परेका लामालाईम्याद थप गरेर बयान लिइसकेपछि थप विषय प्रष्ट हुने छ । लामा यसअघि सुन तस्करीमा पक्राउ परेकाले पहिला सुनको रअहिलेको डलरको विषयमा अनुसन्धान गरिनेप्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेतलेजानकारी दिए ।

लामाको अवस्था र हुलिया हेर्दा सुन तस्करहरुले उनलाई निश्चित रकमको प्रलोभनमा भरिया बनाएको देखिन्छ ।अहिले उनी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा कारबाही तथा अनुसन्धानमा पक्राउ परेका हुन् । यसको अनुसन्धान राजस्व अनुसन्धान विभागले गर्ने भएकाले प्रारम्भिक अनुसन्धान सक्काएर प्रहरीले उनलाई विभागसमक्ष बुझाउने तयारी गरेको छ।लामाले काठमाडौंबाट पैसा लगेर केरुङबाट सुन ल्याउने तयारी गरेको देखिन्छ । यसले कुसाङको सम्बन्ध सुन तस्करहरुसँग छ भन्नेमा कुनै गुन्जायस छैन । तर अब प्रहरी कसरी सुन तस्करका नाइकेसम्म पुग्छ ? त्यो भने आगामी दिनले देखाउने नै छ ।