इजरायल र हमासबीच भएको पछिल्लो युद्ध विरामपछि इजरायली सेनाले गाजामा अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । जनवरी १९ देखि सुरु भएको युद्ध विरामपछिको अहिलेसम्मकै ठूलो भनिएको कारबाहीमा सयौँ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायलले गाजामा फेरि भीषण आक्रमण थालेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो । पछिल्लो आक्रमणबाट गाजामा एकैरातमा ३ सय ३० जना मारिएका छन् । जसमध्ये ५० बालबालिका २८ महिला पनि छन् । दर्जनौँ घाइतेको अवस्था गम्भीर रहेको हमासको स्वास्थ्य मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ जारी रहने बताएका छन् । यसअघि, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा युद्धको मुख्य उद्देश्य हमासको सैन्य शक्ति नष्ट गरेर बन्धक फिर्ता ल्याउनु रहेको बताएका थिए । इजरायलले गत जनवरी १९ यताकै भीषण आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यतिबेला युद्धविरामको सहमति कार्यान्वयनमा आएको थियो । इजरायलका प्रधानमन्त्री नेतान्याहुको कार्यालयले हमासले निरन्तर रूपमा बन्धक रिहा गर्न र युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेपछि आक्रमण थालेको प्रतिक्रिया दिएका छन् । उता हमासले इजरायलले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । सर्वसाधारणमाथि आक्रमण गरिरहेको इजरायललाई मध्यस्थकर्ताले रोक्नुपर्ने हमासको माग छ ।
इजरायलले गाजामा रहेका बाँकी बन्धकहरूको ‘अज्ञात भविष्य’लाई जोखिममा पारेको उल्लेख गरेको छ । तर, हमासले अझै युद्ध पुनः सुरु गर्ने घोषणा गरेको छैन, बरु मध्यस्थकर्ताहरू र संयुक्त राष्ट्र सङ्घलाई हस्तक्षेप गर्न आह्वान गरेको छ । टाइम्स अफ इजरायलका अनुसार हमासको कब्जामा अझै २४ जना जीवित बन्धक छन् । जसमा २२ जना इजरायली, १ जना थाइल्याण्डका नागरिक र एक नेपाली विद्यार्थी विपिन जोशी छन् ।
युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धक रिहा भएका थिए । तर, जोशीसहित २४ जना छुटेनन् । दोस्रो चरणको युद्धविरामको सम्झौता गर्न दुवै पक्षबीच छलफलको तयारी भइरहेको थियो । तर, यसबीचमै इजरायलले आक्रमण गरेपछि युद्धविरामको सम्झौता तत्काल टरेको छ । यता, इजरायल रक्षा बलले हमाससँग सम्बन्धित ‘आतङ्कवादी लक्ष्यहरू’लाई लक्षित गरिरहेको बताएको छ ।
इजरायली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जले आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । बन्धकहरूलाई रिहा गर्न हमासले बारम्बार अस्वीकार गरेको साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीव विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरूलाई अस्वीकार गरेपछि यो निर्णय गरिएको इजरायलको भनाइ छ । इजरायलले अबदेखि हमास विरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्नेछ,” विज्ञप्तिमा उल्लेख छ । आक्रमणको योजना सप्ताहन्तमा प्रस्तुत गरिएको थियो र राजनीतिक नेतृत्वद्वारा अनुमोदित गरिएको थियो ।
राष्ट्रसङ्घका लागि इजरायलका राजदूत ड्यानी डानोनले हमासलाई सबै बन्धकहरूलाई रिहा गर्न चेतावनी दिँदै भनेका छन्, “हामी हाम्रा शत्रुहरूलाई कुनै दया देखाउने छैनौं ।’’ इजरायल र प्यालेस्टाइनबीच युद्धविराम सम्झौता नहुँदा हमासको नियन्त्रणमा रहेका अन्य बन्धकका साथै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ अनिश्चित हुने जोखिम बढेको छ । अरब देश र अमेरिकाको पहलमा मध्यपूर्वमा युद्धविराम हुँदा लामो समयदेखि अशान्त सो क्षेत्रले राहत महसुस गरेको थियो । गाजामा शान्ति छाउने विश्वासका साथ विस्थापित भएका लाखौँ प्यालेस्टिनीहरु घर फकेर राम्रोसँग व्यवस्थित हुन नपाउँदै इजरायलले फेरि थालेको युद्धले उनीहरु चपेटामा परेका छन् । युद्धविरामको अवधिमा शान्त बनेको गाजा फेरि अशान्त र रणभूमिमा परिणत भएको छ भने दीर्घकालीन रुपमा युद्ध अन्त्यको सम्भावना समेत तत्काललाई न्युन देखिएको छ ।
प्रतिक्रिया