Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

कठोर बन्दै ट्रम्प, ग्रीन कार्डधारी पनि जोखिममा


अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम आफ्नो देश फर्काइरहेको छ । अब त ग्रीन कार्डधारीहरू पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियानको सिकार बन्ने भएका छन् । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीन कार्डधारीहरूलाई सधैंभरि अमेरिका बस्ने अधिकार नरहेको बताएपछि थप आप्रवासीहरूमा तनाव बढेको छ ।

मान्छेका हजारौँ सपना हुन्छन् । तीमध्ये एउटा हो अमेरिकी सपना । संसारका लागि अमेरिका सपनाकै देशका रुपमा चिनिँदै आएको छ । भौतिक र आर्थिक उन्नतिमा मात्र माथि छैन, विज्ञान, व्यवस्थापन र अरु विविध विधामा अमेरिका अग्रस्थानमा छ । विश्व शक्ति राष्ट्र पनि हो, अमेरिका । अमेरिकालाई दुस्मन ठान्नेदेखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकहरूले अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ । अमेरिका जान पाउनु एउटा सफलता मानिन्छ । त्यहाँ गएपछि काम र दाम दुवै हुने आकांक्षाकै कारण विभिन्न देशका नागरिकहरु अमेरिका जान लालायित हुने गरेका छन् । जीवन सुरक्षित र भविष्य सुनिश्चित हुने भएकाले अमेरिकी सपना धेरैको हुने गरेको छ ।

आफ्ना छोराछोरी तथा आफन्त अमेरिकामा छन् भनेर सुनाउन पाउँदासमेत गर्व गर्छन् । तर पछिल्लो समय अमेरिका सोचे जस्तो सजिलो छैन । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसंगै अमेरिकाको सपना देख्ने र अमेरिका पुगेर पनि वैधानिक कागजात नपाएकाहरुको आशा चकनाचुर भएको छ । ट्रम्पले कार्यकाल सम्हालेदेखि अवैध बाटो हुँदै अमेरिका पुगेकाहरुलाई देश निकाला गरिरहेका छन् ।

अब अवैध बाटो जानेलाई मात्रै नभई ग्रिन कार्ड पाउनेलाई समेत आफ्नै देश फिर्ता पठाउनेसम्मको योजना अमेरिकाको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ग्रीन कार्डधारीहरूलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार नरहेको बताएपछि थप आप्रवासीहरूमा तनाव बढेको छ । ‘ग्रीन कार्ड हुनुको अर्थ कुनै व्यक्तिलाई सधैंभरि अमेरिकामा बस्ने अधिकार मिल्छ भन्ने होइन,’ भान्सले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा भनेका छन् । अमेरिकी सरकारलाई ग्रीन कार्डधारीहरूलाई पनि निष्कासन गर्ने अधिकार रहेको भान्सको अभिव्यक्ति सार्वजनिक भएपछि अमेरिकामा थप आप्रवासीहरू भयभित बनेका छन् । सामान्यतः ग्रीनकार्ड प्राप्त आप्रवासीले कानुनी रूपमै स्थायी रूपमा अमेरिका बस्न पाउने गरेका छन् । यो कार्ड पाएका आप्रवासीलाई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न र काम गर्ने अधिकार हुन्छ ।

भान्सको अभिव्यक्तिसँगै आप्रवासीलाई ट्रम्पले अस्थायी रूपमा अमेरिकामा बस्ने अनुमति उल्ट्याउने हुन् कि भन्ने परेका छन् । १२ मिलियन अर्थात एक करोड २० लाख भन्दा बढी ग्रीन कार्ड होल्डरहरूलाई अमेरिकी संविधानको पहिलो संशोधनअनुसार सम्पूर्ण नागरिक सरह बोल्ने स्वतन्त्रताको अधिकार छ। अमेरिकी कानुनअनुसार, कानुनी रूपमा बसोबास गरिरहेका व्यक्तिहरूलाई समेत अभिव्यक्तिको स्वतन्त्रता दिने परम्परा रहिआएको छ । ट्रम्पको पहिलो कार्यकालमा ग्रीन कार्ड होल्डरहरूलाई ‘बफादारी परीक्षण’ दिनुपर्ने प्रस्ताव गरिएको थियो। सन् २०१७ को फेब्रुअरीमा लागू गरिएको सात मुस्लिम बहुल देशमाथि लगाइएको यात्रा प्रतिबन्धका कारण केही ग्रीन कार्ड होल्डरहरू प्रभावित भएका थिए । त्यतिबेला अमेरिकी सीमामा ग्रीन कार्ड होल्डरहरूलाई उनीहरूको राजनीतिक विचारबारे सोधपुछ गरिएको थियो । दोस्रो कार्यकालसंगै ट्रम्पले विभिन्न नियर्णहरु गर्दै आएका छन् । यदि ग्रिन कार्ड पाउनेलाई पनि देश निकाला गरियो भने करोडौँको भविष्य अन्धकार बन्ने भएको छ ।