Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

शान्ति दूत बन्ने ट्रम्पको योजना फेल, जेलेन्स्की र पुटिन नै भड्किए


अमेरिकासँगको वार्तामा युक्रेन एक महिने युद्धविरामका लागि सहमत भए पनि रुसले भने असहमति जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले एकमहिने युद्धविराम प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

अमेरिकासँगको वार्तामा युक्रेन एकमहिने युद्धविराममा जान सहमत भए पनि रुसले भने असहमति जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले एकमहिने युद्धविराम प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारेका छन् । युद्धविरामका लागि साउदी अरबमा अमेरिका र युक्रेनबीच बृहत छलफल भएको थियो । सो वार्तामा अस्थायी युद्धविराम गर्न युक्रेन सहमत भएको थियो ।

तर अस्थायी युद्धविरामले युक्रेनलाई पुनः संगठित हुने मौका दिने भन्दै रुसले अस्वीकार गरेको छ । रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको पुटिनका सहयोगीको भनाइ छ । ‘रुस र अमेरिकाबीच शान्त तरिकाले विचारको सामान्य आदानप्रदान भइरहेको छ,’ युरी उसाकोभले भनेका छन् । यसअघि रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले वार्ताबारे अमेरिकी पक्षबाट विस्तृत जानकारी पर्खिरहेको प्रतिक्रिया दिएका थिए । वार्तामा सहमति भएको सम्भावित युद्धविरामबारे टिप्पणी गर्नुअघि अमेरिकी अधिकारीहरूको प्रतिबद्धताको विश्लेषण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

अमेरिका, युक्रेनलगायतका देशले प्रतिक्रिया पर्खिरहेका बेला रुसी राष्ट्रपति पुटिनले भने बुधबार युद्धग्रस्त कुस्र्क क्षेत्रको अप्रत्याशित भ्रमण गरेका छन् । उनी गत अगस्टमा युक्रेनको आक्रमणपछि पहिलो पटक कुस्र्क पुगेका हुन् । कुस्र्क क्षेत्र पहिले युक्रेनको नियन्त्रणमा थियो । रुसी सेनाले कुस्र्क क्षेत्रको प्रमुख सहर सुड्झालाई पुनः कब्जा गरेको छ । रुसी रक्षा मन्त्रालयले उत्तरी समूहका सेनाका एकाइहरूले आफ्नो आक्रामक कारबाहीको क्रममा मेलोभोई, पोडोल र सुड्झाका बस्तीहरू मुक्त गरी आफ्नो सेनाले कब्जा गरेको बताएको छ ।

अगस्ट २०२४ मा सीमापार आक्रमण भएदेखि युक्रेनी नियन्त्रणमा रहेको सुड्झा कुस्र्क क्षेत्र युक्रेनको युद्ध सञ्चालनका लागि आपूर्ति सुरक्षित गर्ने महत्त्वपूर्ण स्थान हो । रुसी सेना प्रमुखका अनुसार रुसी सेनाले कुस्र्क क्षेत्रमा १ हजार १ सय वर्ग किलोमिटरभन्दा बढी भूभाग पुनः प्राप्त गरेको छ । यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविरामकोे सम्झौतामा सहमति नभए रुसका लागि आर्थिक रूपमा ‘धेरै नराम्रो’ हुने चेतावनी यसअघि दिएका छन् ।

ट्रम्पको चेतावनीका बीच नै रुसले ३० दिने युद्धविराम सम्झौता तोडेको छ । यसले अब यी दुई देशको युद्ध थप लम्बिने पक्कापक्की भएको छ । अहिले युक्रेनको करिब २० प्रतिशत भूभाग रुसको नियन्त्रणमा छ । जारी युद्धमा रुसी सेनाको तर्फबाट लड्ने ९५ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । युक्रेनले अन्तिम पटक डिसेम्बर २०२४ मा आफ्नो हताहतको तथ्याङ्क सार्वजानिक गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ४३ हजार युक्रेनी मारिएको स्वीकार गरेका छन् ।

युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा आबद्ध हुने तयारी गरेपछि २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसयता रुसले युक्रेनको करिब २० प्रतिशत भूभागमा नियन्त्रण कायम गरेको छ । अमेरिकाको पहलमा दुई देशबीच युद्धविराम गर्दै दीर्घकालीन शान्तिको प्रयास भए पनि रुसले युद्ध रोक्न नचाहनुले पुटिन युक्रेनमाथि पूर्ण रुपमा कब्जा गर्न चाहन्छन्, भन्ने कुरामा थप बल पुगेको छ । तर, सुरुमा ट्रम्पको प्रस्तावलाई अस्वीकार गर्दा सैन्य सहायता रोकिँदा केही संकटमा परेको युक्रेनले पछिल्लो समय युद्धविराम लगायतका विषयमा सहमति जनाएपछि अमेरिकाले रोकेको सहायता पुनः सुचारु भएको छ । यसले युक्रेनलाई बल पुग्दा रुसले सोचे जस्तो युक्रेनमाथि सहजै कब्जा गर्ने अवस्था अझै देखिँदैन भने दुई देशबीचको लडाईं थप लम्बिने र दुवै पक्षले ठूलो क्षति व्यहोर्नु पर्ने निश्चित जस्तै छ ।