सत्य र निष्पक्ष ढंगले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु नेपाल प्रहरीको कर्तव्य हो । तर देशमा सुख, शान्ति, अमन, चयन कायम राख्दै नागरिकलाई सुरक्षा प्रदान गर्ने प्रहरी नै सबैतिरबाट चेपुवामा परेको छ ।
शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने मुख्य दायित्व बोकेको नेपाल प्रहरी अहिले राजनीतिक दलहरूको चेपुवामा छ । प्रहरीको दैनिकी व्यक्तित्व विकास र अनुसन्धनात्मक कार्यमा भन्दा नेता कार्यकर्ताको सुरक्षामा नै व्यतित भइरहेको छ । दैनिक जसो हुने शक्ति प्रदर्शन र सडक सङ्घर्षको मारमा प्रहरी नै परिरहेको छ । राजनीतिक द्वन्द्वकै कारण पिल्सिएका प्रहरीहरूले कहिले कृषकको त कहिले शिक्षकहरूको आन्दोलनमा समय खर्चिनु परेको छ ।
आइतबार मात्रै काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ भएको भीडलाई नियन्त्रण गर्न २५ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको थियो । कुनै पनि किसिमको अवाञ्छित घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाक्लो उपस्थितिका बीच नागरिकहरूको सुरक्षा गर्दै पूर्वराजालाई स्कर्टिङ गर्नुपर्ने बाध्यता प्रहरीलाई थियो । त्यस्तै राप्रपाले आगामी चैत १ गतेदेखि राष्ट्रवादी आन्दोलन गर्ने तयारी गर्दा नेकपा एकीकृत समाजवादीले पनि आन्दोलनको घोषणा गर्ने भएको छ । यसको मतलब प्रहरी अझै आन्दोलनमै रुमल्लिने निश्चित छ ।
आइतबार नै धनगढीमा कांग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले राखेको झण्डा हटाउँदा प्रहरी नै दबावमा प¥यो । सडकमा राखिएको पार्टीको झण्डा दिउँसो हटाउँदा नेता, कार्यकर्ताको दबावले प्रहरीकै उपस्थितिमा राति नै ती झण्डा राख्न लगाइयो । राजनीतिक समीकरण बदलिएर गृहमन्त्री फेरिँदा पनि त्यसको मारमा प्रहरी नै पर्दै आएको तीतो विगत छ । एउटा सरकार हुँदा कुनै एक प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीलाई सरुवा गर्ने त परम्परा नै भइसक्यो ।
यसअघि ताप्लेजुङको पाथीभरा मन्दिरमा केबुलकार राख्ने विषयमा होस् वा सहकारी पीडितहरूको आन्दोलनमा जनताको आक्रोश प्रहरीमाथि पोखिँदा आन्दोलनकारीमाथि हस्तक्षेप नगरेको भन्दै मन्त्रीको चेपुवामा प्रहरीहरू नै पर्ने गरेका छन् । कास्की जिल्ला अदालत परिसरमा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पत्रकारसँग बोल्न दिइएको भन्दै जिल्ला प्रहरी प्रमुखले स्पष्टीकरण नै दिनु प¥यो ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला घुमाएर नारायणी किनारमा जलाउँदा पनि प्रहरीले हस्तक्षेप नगरेको भन्दै चितवनका प्रहरी प्रमुखले सरुवा खेप्नु प¥यो । स्रोत साधन र जनशक्ति अभावबाट गुज्रिरहेको प्रहरी नेतादेखि व्यक्तिको मुद्दाबाट पनि थलिएको छ । राज्य शक्तिले प्रहरीलाई आफ्नो खल्तीको साधनको रुपमा मात्रै प्रयोग गर्दा शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने मुख्य दायित्व पूरा गर्न प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।
नेपाल प्रहरीसँग अझै पनि आवश्यक स्रोत साधन र जनशक्तिको अभाव छ । त्यसका बाबजुद पनि प्रहरीले गरेको सफल कार्यले संगठनकै नाम उचो बनाएको छ । प्रहरीको मुख्य उद्देश्य नै शान्ति, सुरक्षा र अपराध नियन्त्रण तथा अनुसन्धान भएकाले सुरक्षाबिना समाजको गतिविधि हुन कदापि अगाडि बढ्न सक्दैन । तर, पछिल्लो समय प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्नेभन्दा बढी समय राजनीतिक दलका नेता कार्यकर्ताहरुको गतिविधिमा खर्च गर्नु परिरहेको छ । यसका साथै राज्य र शीर्ष नेतृत्वबाट भइरहेको प्रहरीको दुरुपयोगले जनशक्ति परिचालनमै समस्या झेल्नु परिरहेको छ ।
प्रतिक्रिया