साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलको उच्चस्तरीय वार्तामा अमेरिकाको प्रस्ताव स्वीकार्दै रुससँग अस्थायी युद्धविराम गर्न युक्रेन सहमत भएको छ । युद्धको मध्यस्थकर्ता भने सधँै अरब देश नै हुँदा यसप्रति चासो बढेको छ ।
युक्रेन र अमेरिकी अधिकारीहरूबीच मंगलबार साउदी अरेबियामा भएको वार्तापछि ३० दिनका लागि अस्थायी युद्धविराम गर्ने सहमति जुटेको छ । रुस युक्रेनबीचको जारी युद्ध रोक्ने पहल स्वरुप भएको यो वार्तालाई महत्वका साथ हेरिएको थियो । फलतः अमेरिकाको प्रस्तावमा युक्रेन ३० दिनका लागि अस्थायी युद्धविराम गर्न सहमत भएको हो । अस्थायी युद्धविरामका लागि युक्रेन सहमत भएसँगै अमेरिकाले रोकेको सैन्य सहायता वितरण पुनः सुरु भएको छ ।
पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सहायता वितरण पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्ल सिकोस्र्कीले बताएका छन् । यता युक्रेनसँगको वार्ताले अस्थायी युद्धविरामको सहमति जुटाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग कुराकानी गर्ने तयारी गरेका छन् । साथै अमेरिकाको प्रस्तावबारे छलफल गर्न वासिङ्टनका अधिकारीहरु मस्को जाने भएका छन् । क्रेमलिनले समेत अमेरिका र युक्रेनबीचको वार्तालाई नजिकबाट नियाली रहेको र सहमतिका दस्तावेजहरुलाई अध्ययन गरिरहेको जनाएको छ । युद्धविराम प्रस्तावबारे टिप्पणी गर्नुअघि अमेरिकी अधिकारीहरुबाट जानकारी लिन पर्खिरहेको बताएको छ ।
अमेरिका र युक्रेनबीचको वार्ताका लागि साउदी अरेबियालाई किन रोजियो भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन्छ । साउदी अरेबियाले विगत केही दशकदेखि शान्ति सम्झौताहरूमा मध्यस्थता गर्दै आएको छ । सन १९८९ मा लेबनानमा लडिरहेका विद्रोही संगठनहरू बीच सम्झौताका लागि साउदीले मध्यस्थता गरेको थियो । जसका कारण १९९० मा १५ वर्ष पुरानो गृहयुद्ध अन्त्य भएको थियो । २००७ मा साउदी अरेबियाले मक्का सम्झौता गरायो, जसले प्यालेस्टिनी समूह हमास र फतहबीचको शत्रुता समाप्त भएको थिययो ।
अब फेरि एकपटक राजकुमार मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरेबियाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको छ । साउदी अरेबियाले २०२२ देखि यमनमा शान्ति स्थापनाको प्रयास गरिरहेको छ । साउदी अरेबियाले त्यहाँ गृहयुद्ध अन्त्य गर्न हुथी विद्रोहीहरूसँग धेरै चरणमा वार्ता गरिसकेको छ । सुडानको सेना र विद्रोही समूहबीच मेलमिलाप गराउन साउदी अरेबियाले दुवै पक्षसँग धेरै चरणमा वार्ता गरिसकेको छ । साउदी अरेबियाको मध्यस्थतामा २०२२ मा रूस र युक्रेनबीच २५० भन्दा बढी युद्धबन्दीहरू आदानप्रदान गर्ने सम्झौता भएको थियो ।
यता साउदी अरेबियाको छिमेकी मुलुक कतार पनि विगत दुई दशक यता विश्वभर मध्यस्थकर्ताको भूमिकामा देखा परेको छ । कतारले इजरायल र हमासबीच गाजामा युद्धविराम गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यसअघि पनि कतारले आफ्नो मध्यस्थतामा धेरै शान्ति सम्झौता गराइसकेको छ । सन् २०२० मा कतारले तालिबान र अमेरिकाबीचको सम्झौतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो । यो सम्झौतापछि मात्र अमेरिका र तालिबान बीचको १८ वर्ष लामो युद्ध समाप्त भएको थियो ।
यसपछि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता बोलायो र अफगानिस्तानको सत्ता तालिबानले कब्जा ग¥यो । कतारले अफ्रिकामा पनि कैयौँ शान्ति सम्झौतामा मध्यस्थता गरेको छ । २०१० मा कतारले सुडानी सरकार र डार्फरमा सक्रिय सशस्त्र समूहहरूबीच शान्ति सम्झौता गराएको थियो । सन् २००८ मा कतारले लेबनानमा लडिरहेका विद्रोही समूहहरूबीच सम्झौता गराएको थियो । यो सम्झौता त्यस्तो समयमा गरिएको थियो, जब देश गृहयुद्धको सँघारमा थियो ।
१९९५ मा हमाद बिन खलिफा अल थानी कतारको शासक बनेका थिए । यससँगै कतारले शान्ति सम्झौतामा महत्त्वपूर्ण भूमिका खेल्न थालेको थियो । धेरै देशले कतार र साउदीलाई मध्यस्थताका लागि रोज्ने गरेका छन् किनभने कतार र साउदीसँग उनीहरूको त्यस्तो शत्रुता छैन । त्यसैले यी दुई देशले दुई पक्षलाई मिलाउने पुलको रुपमा काम गर्दै आएका छन् । तर दुःखको कुरा, विश्वमा अझै यी दुवै देशलाई व्यस्त राख्ने थुप्रै द्वन्द्वहरू छरपस्टरुपमा छन् । जुन उनीहरुका लागि चुनौतीको पहाड बनेर खडा भएको छ ।।
०००
प्रतिक्रिया