Breaking

सत्ताले मात्तियो एमाले, विरोधले घेरिँदा पनि चेत्दैनन् ओली


सत्ता देखेपछि तीन नेत्र खोली हाल्ने चरित्र बोकेका दल विराजमान नेपालमा अहिले दुई ठूला दलले सरकार चलाइरहेका छन् । दुई तिहाइको शक्ति देखाउँदै नीतिगत सुधारको योजनामा रहे पनि प्राथमिकता अन्तै पर्दा सरकारको उन्माद बढेको आरोप लाग्न थालेको छ ।

विधिको शासन बसाल्ने भन्दै कांग्रेस–एमाले मिलेर बनेको सरकार गठन भएकै दिनदेखि विवादित छ । सुरुदेखि नै विरोधी स्वर खप्न नसक्ने, नियमनको नाममा नियन्त्रणमूखी कानुन बनाउने, संख्याको बलमा अध्यादेशबाट शासन चलाउनेजस्ता गतिविधिले सत्ताको उन्माद बढेको आरोप लाग्ने गरेको छ । अहिले त प्रश्न गर्दा पनि चिढचिढाहट महसुस गर्ने अवस्थामा सरकार पुुगेको छ । केही उदाहरण विस्तृतमै हेरौँ ।


१. संख्याको बलमा शासन
१८ औँ शताब्दीतिर फ्रान्सका निरंकुश शासक लुई चौधौँले भन्थे– ‘म नै राज्य हुँ’ । अहिले केपी शर्मा ओली नेतृत्वको सरकार पनि म नै सबैथोक हुँ र मभन्दा बाहेक सबै गलत छन् भन्ने शैलीमा हिँडिरहेको आरोप छ । सरकारले सुरुदेखि नै समन्वयकारी भूमिकामा देखिनु पर्नेमा संख्याको बलमा शासन गर्ने शैली अपनाउँदै आएको छ । सुरुमा बिभिन्न काण्डमा मुछिएका आफ्ना नेताहरुलाई छानीछानी सफाइ दिइयो ।

कुलमान घिसिङजस्ता व्यक्तिहरुको पछि हात धोएर लाग्यो । अहिले राज्यलाई सत्ताको उन्मादमा जे बोले पनि हुन्छ भन्ने मानसिकताले गाँजेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ सुरुमा प्रहरीको जिब्रो थुत्नुपर्छ भन्दै बम्किए । अहिले पनि माओवादीको सशस्त्र द्वन्द्वलाई हिंसा भनेर विपक्षीमाथि पावर देखाउन खोज्दैछन् । भलै प्रधानमन्त्रीलाई ‘देश छोड्’ भन्नु अराजकता हो । तर, दर्शकदीर्घामा बसेका दर्शकलाई लात मार्न जाने एमालेका कार्यकर्तालाई कानुनले छोएन । बरु सत्तामा रहेको कांग्रेसले उनीहरुलाई गणतन्त्रका रक्षक भनेर उल्टै बचाउ गरिरहेको छ ।

२. छैन प्रश्नको जवाफ, छैन जवाफदेहिता


फागुन चार गते केही पत्रकारले संसद भवनमै प्रधानमन्त्री ओलीलाई केही घटनाको उदाहरण सुनाउँदै तपाईं हिटलर बनेको हो ? भन्दै प्रश्न गरे । तर, प्रश्न गरेकै भरमा उनीहरुको संसदको पास खारेज गरियो । प्रश्न सोधेकै भरमा संसदमा आउनबाटै वञ्चित गरिएकोमा पत्रकारले सञ्चारमन्त्री र सत्तारुढ नेतालाई प्रश्न गरे । तर, कारको कालो सिसा लगाउँदै प्रश्नबाट उनीहरु भागे ।


पत्रकारमाथि कारबाही भएपछि रास्वपाले भने प्रधानमन्त्री ओलीलाई हिटलर हो ? भन्दै संसदको रोष्ट्रमबाटै प्रश्न गरेको छ ।

यहाँ अर्को लज्जस्पद कदम के छ भने आफूलाई लोकतन्त्रको मसिहा ठान्ने कांग्रेस पार्टी पनि यस्ता गतिविधिको सती गइरहेको छ । एकतर्फ अभिव्यक्ति स्वतन्त्रको कुरा गर्छ अर्कोतर्फ सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रता नै हनन हुने गरिका कानुन बनाउन ओलीलाई नै उद्देलित गराइरहेको छ । कांग्रेसकै अर्का सांसद चन्द्र भण्डारीले भने प्रधानमन्त्रीलाई नम्र शैलीमा सम्झाइदिएका छन् ।

३. लखेटिँदै नेता


प्रधानमन्त्री बनेयता केपी शर्मा ओली स्वयं लखेटिन थालेका छन् । उनी जता जान्छन् त्यही विरोध हुने अवस्था आइसकेको छ । प्रधानमन्त्र बनेपछि अमेरिका जाँदा उतै लखेटिए । कात्तिकमा दशरथ रंगशालामा लखेटिए । फागुन मा फेरि दशरथ रंगशालामै नारबाजी भयो । शुक्रबार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्न गएका ओली सुर्खेतमा सर्वसाधारणले हर्न बजाएर विरोध गरेका थिए ।

सत्तामा रहँदा एउटा र प्रतिपक्षमा पुगेपछि अर्को बोली बोल्ने नेताहरु लखेटिन थालेका छन् । यसको भुंग्रोमा एमाले सांसद सूर्य थापा परे । पोखराको लिट्रेचर फेस्टिबलमा सहकारी समस्याबारे बोल्न हिँडेका थापालाई सहकारी पीडितले असली प्रश्न मात्र सोधेका थिएनन् । उल्टै उनीहरुलाई काउन्टर दिन थाले पछि केही परसम्म पिछा छाडेका थिएनन् । जवाफ दिनुको साटो बचत नै किन गरेको ? जस्ता प्रश्न गर्न थालेपछि थापा सहकारी पीडितको लखेटाइमा परेका थिए ।

विष्णु पौडेल अर्थमन्त्री भएकै समय केही दिनअघि मात्र नेपाल सम्पत्ति शद्धीकरणको ‘ग्रेलिस्ट’मा परेको छ । यस्तो अवस्थामा दोष स्वभाविक रुपमा अर्थमन्त्रीमाथि नै जान्छ । तर, संयमित भएर जिम्मा लिनुको साटो विगतका कालखण्ड खोतल्ने भन्दै उनी जवाफदेहिताबाट भागेका छन् । यसबारे प्रश्न उठाउने सांसदलाई अरु समय शालीन रहने अर्थमन्त्रीले आक्रामक हुँदै जवाफ दिए । गिरीबन्धुको विषय आउँदा सांसदलाई स्वास्थ्य परीक्षण गर्नसमेत सुझाए ।

संख्या छ भन्दैमा सबै सही भइहाल्छ भन्ने होइन । प्रश्न गर्दैमा सरकार ढलिहाल्छ भन्ने पनि होइन । अनि जवाफदेहिता लिँदैमा कद घटिहाल्ने पनि होइन । तर, ‘तँ बोल जे म सुन्न चाहन्छु । तँ लेख जे म पढ्न चाहन्छु’को हुकुमी प्रवृत्ति देखाउँदा शक्तिशाली सरकारप्रति जनताको विश्वास नभई आक्रोश बढ्न थालेको छ ।