राजावादीहरु सल्बलाएपछि यतिबेला गणतन्त्र पक्षधरहरु झस्किएका छन् । राजनीतिक दलका नेताहरुकै कार्यशैलीबाट दिक्क भएका नागरिकको निराशाका बीच पूर्वराजा ज्ञानेन्द्र शाहले देश बनाउन साथ खोजेपछि अहिले गणतन्त्रवादीहरुले उनै पूर्वराजालाई ठेगान लगाउनेसम्मको चेतावनी दिँदै हिँडेका छन् ।
गएको फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले एक वक्तव्य जारी गर्दै देश बनाउन जनताको साथ खाजेपछि गणतन्त्रवादीहरु धमाधम प्रतिकारमा मात्रै उत्रिएका छैनन्, ठेगान लगाउनेसम्मको चेतावनी दिइरहेका छन् । पूर्वराजाको अभिव्यक्तिपछि सल्बलाएका राजावादीले ज्ञानेन्द्र शाहलाई सडकबाटै बल पुग्नेगरी हौसाएपछि गणतन्त्र पक्षधरहरुलाई असैह्य भएको छ ।
फलतः प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरुसम्मै त्यसको प्रतिकारमा उत्रिएका छन् । राजतन्त्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरु सडकमा उत्रिन थालेपछि दलका नेताहरुले सामन्ती प्रेतलाई टाउको नउठाउन चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा शाहलाई व्यङ्ग्य मात्रै गरेनन्, कि अब तानाशाह र निरंकुशताको उदय हुन नसक्ने ठोकुवा गरे । यद्दपि पार्टी खोलेर जनताबाटै निर्वाचित भई आउन पूर्वराजालाई प्रधानमन्त्री ओलीले चुनौती दिएका छन् । यहीबीचमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजाको पछि लाग्नेलाई बेवकुफको मात्रै संज्ञा दिएनन् कि वंश जोगाउन नसक्नेले देश कसरी जोगाउँछ भन्दै प्रतिप्रश्न गरे ।
६२–६३ को जनआन्दोलनमा १९ जनाको बलिदानीपूर्ण संर्घषबाट प्राप्त गणतन्त्रको धरातल यति कमजोर नभएको गणतन्त्र पक्षधर दलहरुको टिप्पणी छ । विगत र भविष्य गतिलो नभएका राजाको पछि आमनागरिक नलाग्नेमा उनीहरु विश्वस्त छन् । पूर्वराजाको चासो र सक्रियतापछि राजावादीहरु सल्बलाउँदा सत्ता र शक्तिका लागि आपसमा भिडिरहेका एमाले र माओवादीको समेत एकै स्वर भएको छ । तराई मधेश जागरण अभियानका क्रममा पूर्वी तराईमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वराजालाई सामन्तीका प्रेतहरुले उचालेको र हौसिए राजपरिवारका लागि अर्को संकटको समय आउने चेतावनी दिए । राजावादीको गतिविधिलाई पटक्कै सैह्य नठानेका उनीहरुले यो व्यवस्थाको विकल्प खोजिए ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । यतिमात्रै होइन व्यवस्थाविरुद्ध लाग्नेहरु कि त मारिएको कि त देशैबाट निकालिएको सन्दर्भ गणतन्त्रवादीहरुले स्मरण गराउँदा राजावादीहरुलाई पनि केही हदसम्म झस्काएको छ ।
एकआपसमै भिडिरहेका प्रतिपक्ष र सत्तामा रहेका प्रचण्ड र ओलीको पूर्वराजाविरुद्ध एक स्वर सुनिए पनि कांग्रेस, रास्ववा, एकीकृत समाजवादी लगायत मधेशवादी दलहरुले भने मुख खोलेका छैनन् । राजतन्त्र फर्काएरै छाड्ने भन्दै हौसिएका राजावादीहरुले यही फागुन २५ गते आइतबार काठमाडौंमा आन्दोलन छेड्ने तयारी गरेका छन् । पूर्वराजा पोखराबाट काठमाडौं फर्किंदा आइबार सडक नै कब्जा गर्दै विमानस्थलबाट निर्मल निवाससम्मै भव्य स्वागतका लागि ठूलो संख्यामा मान्छे उतार्ने राप्रपा लगायत राजावादीहरुको तयारी छ । जसका लागि काठमाडौंका १० वटा पालिका र १० वटै निर्वाचन क्षेत्रसम्मै राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही पुगेर शक्ति सञ्चय गरिरहेका छन् । यस्तै विगतमा माओवादी र एमाले निकट रहेर तिनै दलका शीर्ष नेताहरुसँग उठबस गरेका र पछिल्लो समय कट्टर राजावादीको छवि बनाएका विवादित व्यवसायी दुर्गा प्रसाईंसमेत यो आन्दोलनमा मिसिएका छन् ।
प्रसाईंले सडकबाटै पूर्वराजालाई देश बनाउने उपाय दिनेदेखि दरबार छिराउने भन्दै हौसाइरहेका छन् । नेतामाथि गालीगलौज र विभिन्न आरोप लगाउँदै धेरै बोलेकै कारण हिरासतसम्म पुगेका उनै प्रसाईंले देश बचाउन राजतन्त्रको विकल्प नभएको र नेताका घुँडा भाँच्नुपर्नेदेखि गाउँगाउँबाट लखेट्नुपर्नेसम्मका अराजक अभिव्यक्ति दिँदै हिँडेका छन् । विगतमा बोलेकै कारण विवाद र चर्चामा आउने प्रसाईं हिरासत बसाईं पछि केही मत्थर भए पनि पछिल्लो समय फेरि गणतन्त्र र दलका नेताविरुद्ध उत्तेजित भाषण गर्ने गरेका छन् ।
राजतन्त्रका लागि गणतन्त्रवादीहरुविरुद्ध अराजक अभिव्यक्ति दिएका प्रसाईं फेरि सत्ताको निसानामा पर्न थालेका छन् । यता राजावादीको आन्दोलनले सुरक्षा थ्रेट बढेको महसुस गर्दै गृह प्रशासन मुठभेड नहोस् भन्ने उद्देश्यले सतर्क बनेको देखिन्छ । त्यसो त राजतन्त्र फालेर देशमा नयाँ व्यवस्थाको रुपमा गणतन्त्र आएको दुई दशक बित्दा पनि नागरिकको अवस्था नफेरिएको भन्दै तीव्र आलोचनाका साथै नागरिकमा निराशा बढ्दै गएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रले देशमा धेरै छोटे राजाहरुको उदय हुँदा नागरिकले दुःख पाएको भन्दै बरु देशमा एउटा राजा हुनु नै ठिक भन्ने जमात पनि बढ्दै गएको देखिन्छ । फलतः नेतृत्वको कार्यशैली, जनतामा छाएको निराशाका बीच सल्बलाएका राजावादीको यो आन्दोलनलाई जनताले पनि प्रतिवाद गरेका छैनन् । सधैँ सत्ता लिप्सामा रुमल्लिने गणतन्त्र पक्षधर दलका नेताहरुका लागि राजतन्त्रप्रति बढेको आकर्षण गतिलो पाठ बन्न सक्छ ।।
०००
ख


प्रतिक्रिया