पूर्वराजा ज्ञानेन्द्र शाहले गद्दीमा फर्कने स्पष्ट आकांक्षा देखाएपछि राप्रपाले सडक संघर्ष तताएको छ । विरोध सभाका नाममा राजा फर्काउने अभियान चलाइरहेको राप्रपाले देशभर समर्थन बटुल्दा थप हौसिएको छ । अर्कोतर्फ राजतन्त्र समर्थित शीक्तहरु पनि एकाएक मिल्दा यस पछाडीको शक्तिबारे धेरैको चासो बढेको छ ।
गणतन्त्र गन्हाइसक्यो । राजा आउ देश बचाउ भन्दै काठमाडौंमा राप्रपाले गरेको शक्ति प्रदर्शनले गणतन्त्रवादीको ड्यांग्रो ठटाएको छ । माइतीघरमा ६ लेनको सडक पूरै ढाकिएको छ । क्यामेराको फ्रेमले नभ्याउने गरी भिड देखिन्छ । जय श्रीरामदेखि पूर्वराजा ज्ञानेन्द्रका पोस्टर र नाराले माहोल तताएको छ । लाग्छ राप्रपाले आफ्नो मिसनमा इतिहासकै शक्ति कमाएको छ । जहाँ अध्यक्ष राजेन्द्र लिङदेनले नै ¥यालीको नेतृत्व गरेका छन् । पछिल्लो १५ दिनयता देशभर कार्यकर्ता उतारिरहेको राप्रपाले काठमाडौंमा देखाएको यो शक्ति प्रदर्शन हेर्नुहोस् ।
बुधबार अर्को रोचक दृश्य पनि देखिएको छ । धुम्बाराहीमा चारतिर मुख फर्काएका नेताहरु आन्दोलनमा एकाएक मिलेका छन् । जहाँ आफूलाई असली दरबारिया र ज्ञानेन्द्रको दूत मान्ने दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देन एकै मञ्चमा मात्र देखिएनन् कि अंगालो मार्दै एक भएको सन्देश दिन भ्याए । यसक्रममा दुर्गाले ओलीविरुद्ध नारा लगाउन लिङदेनबाट अनुमति नै लिएको सुनिन्छ । अनुमति पाएपछि उनले उत्तेजित हुँदै ओलीविरुद्ध नारा घन्काए । ट्राफिक प्रहरीले सिठ्ठी फुक्ने बिटबाट प्रसाईंले यो व्यवस्थाविरुद्ध सिठ्ठी फुके । मौसुुफ अर्थात (पूर्वराजा ज्ञानेन्द्र)को सवारी भएपछि एअरपोर्ट कब्जा गरेर आन्दोलन गर्ने र गणतन्त्रवादी नेता लखट्ने उनले उद्घोष गरे ।
जबकि यीनै दुुर्गा प्रसाईंले केही दिनअघि मात्र पोखरा पुगेर राप्रपालाई एमालेको भ्रातृ संगठन करार गर्दै राजेन्द्र लिङदेनबाट राजाले बैतर्नी तर्न नसक्ने बताएका थिए । उनै प्रसाईं आज भने उनकै भाषामा भन्दा एमालेको भ्रातृ संगठनबाटै ज्ञानेन्द्रलाई राजगद्दीमा फर्काउने सपना कसरी देख्दैछन् ? अर्थात कसले यो सपना देखाउँदैछ ? र कसले विरोधी एमालेलाई पनि एक गराउँदैछ ? भन्नेसम्मका प्रश्न उठेका छन् । के पूर्वराजाको सक्रियता र समर्थकको उत्साहमा आन्तरिक शक्ति मात्र कारक हो त भन्ने प्रश्न उठेको छ ।
हुन त फागुन सातमा पूर्वराजा ज्ञानेन्द्रले आफूलाई साथ दिन शंखघोष गरेपछि बहकिएका राजावादी एकाएक संगठित भएका मात्र छैनन्, नागार्जुुनमा आराम गरिरहेका ज्ञानेन्द्र पनि मन्दिर दर्शनका नाममा जनताको नाडी छाम्न थालेका छन् । यसले राप्रपा र राजतन्त्र समर्थकहरुको मनोबल बढाइदिएको छ । यो समर्थन र सक्रियताले राप्रपा अब अब पुरानै शैलीले मात्र मिसन सफल नहुने बुुझिरहेको छ । फलतः यसअघि माइतीघर र सिंहदरबार केन्द्रित हुने आन्दोलन अहिले नारायणहिटीतर्फ सरेको छ । मानौँ त्यो भिडले नारायणहिटीको ढोका तोडे राजा फर्किन्छन् भन्ने मानसिकता देखिन्छ । सकेसम्म उनीहरु ज्ञानेन्द्रलाई श्रीपेच नै लगाउन चाहन्छन् । नभए, नारायणहिटी संग्रहालय लेखिएको ठाउँमा नारायणहिटी राजदरबार लेखेर फोटोसम्म भए पनि खिच्न चाहन्छन् । यसअघि र बुधबारसहित तीन पटक प्रदर्शनकारीहरुले नारायणहिटी छिर्ने प्रयास गरेका छन् ।
राप्रपाले फागुन १५ गते पोखरामा विरोध सभा आयोजना गरेको थियो । जहाँ राजावादी शक्तिको मिलन र सर्वसाधारणको गर्विलो उपस्थितिले पनि राप्रपालाई उत्साहित बनाएको थियो । त्यसयता धनगढीमा मात्र दुईपटक ¥याली निकालिएको छ । त्यसमध्ये एक दिन विरोध सभा गरिएको थियो । त्यहाँ पनि उल्लेख्य सहभागिता देखिएको थियो । यस्तै बुटवल र काठमाडौंमा समेत त्यस्तै उत्साह देखियो । एकातर्फ राप्रपाले सबै राजावादी शक्ति एक गराउँदै जनसमर्थन बटुलिरहेको छ ।
अर्कोतर्फ पूर्वराजा आफैँ पनि पूजाआजाको बहानामा मन्दिर पुग्दा सर्वसाधारणको साहनुभूति पाइरहेका छन् ।
एकछिनका लागि यी सबै गतिविधिलाई सामान्य मानिदिउँ । तर, हिजो राजतन्त्र जोगाउन नसक्नुमा दुई सेना प्रमुखलाई दोषी देखाइनु, अब गणतन्त्र फाल्न पनि सेनाको मुख ताक्नेसम्मको गतिविधिमा राजावादी लाग्नु, सेनाले पनि भूराजनीतिक दबाब बढ्दै गएको देख्नु, राजाको शासन नदेखेको पुस्ता गणतन्त्रवादीको व्यवहारबाट वाक्क हुँदा समर्थन उतै बढ्नु तथा आफूले सत्ता पाए विगतमा राजासँग मिल्न तयार हुनेदेखि गणतन्त्रका बादशाह मानिने दलहरु समेत मौन रहनुले राप्रपा आन्दोलनको भूमरीले ठूलै शक्तिको बलमा भूकम्प ल्याउने अड्कल काट्न थालिएको छ ।
प्रतिक्रिया