अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्न आदेश दिएका छन् । यो आदेशसँगै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् । ओभल अफिसमा युक्रेनी राष्ट्रपतिसँग भएको तनावपूर्ण वार्ताको केही दिन पछि नै ट्रम्पले उक्त निर्णय गरेका हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहायता रोक्न आदेश दिएका छन् । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पबीच चर्काचर्की भएको केही समय पछि नै अमेरिकाले यस्तो निर्णय गरेको हो । यो आदेशसँगै भोलोदिमिर जेलेन्स्की थप दबाबमा परेका छन् । अमेरिका युक्रेनलाई सबैभन्दा धेरै सैन्य सहायता उपलब्ध गराउने देश हो । अमेरिकाले रुसविरुद्धको युद्धमा युक्रेनलाई हवाई प्रतिरक्षा क्षेप्यास्त्रसहित महत्त्वपूर्ण अस्त्रहरू प्रदान गर्दै आएको थियो ।
२०२२–२४ मा युक्रेनले विदेशबाट करिब ११५ अर्ब डलरको सहयोग पाएको थियो । ऋण, अनुदान, तथा कर्जा राहतको प्रतिबद्धतामार्फत् पाएको थियो । त्यसमध्ये ईयूबाट ४४.८ अर्ब डलर, अमेरिकाबाट ३१.२ अर्ब डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट १२.४ अर्ब डलर रहेको थियो ।
अमेरिकाले सन् २०२४ मा उसलाई दिएको ६०.७ अर्ब डलरको खास गरी सैन्य सहयोगको बाचामा युक्रेनी अर्थतन्त्रलाई सघाउन लक्षित ७.९ अर्ब डलरको ऋण सहयोग पनि सामेल थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्की र उनका अमेरिकी समकक्षी ट्रम्प तथा उपराष्ट्रपति जेडी भान्सबीच ह्वाइट हाउसमा भएको वार्तामा भनाभन भएको थियो ।
ट्रम्पले जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेको आरोप लगाएपछि जेलेन्स्की चिढिएका थिए । सोमवार फेरि ट्रम्पले जेलेन्स्कीको आलोचना गर्दै शान्ति सम्झौतालाई समर्थन नगरेमा उनी लामो समय पदमा रहन नसक्ने टिप्पणी गरेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबिओले युक्रेनलाई दिइने सैन्य सहायता रोक्का गरिएकोबारे एउटा वक्तव्य सार्वजनिक गरेका छन् । तर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू अझै पनि अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको बताएका छन् । त्यसका लागि युक्रेनले सुरक्षाको प्रत्याभूति पाउनु पर्ने उनको अडान छ । चर्काचर्कीपछि बेलायत हानिएका जेलेन्स्कीले पत्रकारहरूसँग कुरा गर्दै अमेरिकासँग मिलेर अघि बढ्न तयार रहेको बताएका हुन् । तर शान्ति सम्झौताका नाममा युक्रेनले रुसलाई कुनै पनि भू–भाग नछोड्ने उनले स्पष्ट पारेका छन् ।
यस्तै जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूको युद्धविराम आह्वानप्रति प्रतिक्रिया दिंदै युक्रेनको सुरक्षा ग्यारेन्टी बिनाको युद्धविरामले रूसको आक्रमणको दीर्घकालीन अन्त्य नगर्ने बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा जेलेन्स्कीले युद्धविरामका लागि युद्ध अन्त्य गर्ने विचार ‘पर्याप्त नभएको’ भन्दै अस्वीकार गरेका हुन् । युक्रेनलाई गम्भीर सुरक्षा ग्यारेन्टीहरू बिना युद्धविरामका लागि बाध्य पारिएमा यो सबैका लागि एक असफलता हुने जेलेन्स्कीले बेलायतबाट प्रस्थान गर्नुभन्दा केही समयअघि पत्रकारहरूलाई भनेका छन् ।
उनले रूसले सम्झौता तोडे युक्रेनले जवाफी कारबाही गर्ने बताएका छन् । यता रुस–युक्रेन युद्धले निम्त्याएको सङ्कट समाधान गर्न कूटनीतिक गतिविधि तीव्र पारिएको छ । साथै अमेरिका, रुस, युक्रेन र युरोपबीच हुने सम्भावित सहमतिलाई नजिकबाट हेरिएको छ । तर दीर्घकालीन शान्तिको सम्भावना अझै पनि न्युन देखिन्छ । अहिलेसम्म अमेरिकाको दरिलो साथ सहयोगमा रुसविरुद्ध युद्ध लडिरहेको युक्रेनका लागि ट्रम्पको निर्णयले पक्कै पनि केही धक्का लाग्ने छ । यद्यपि, अमेरिकासँग सम्बन्ध चिसिँदा जेलेन्स्कीले युरोपेली मुलुकसँगको सम्बन्धलाई थप विस्तार गर्दै आवश्यक सहयोगको वातावरण बनाउन अग्रसर भएका छन् । यसले युक्रेनलाई केही राहत प्रदान गरे पनि लामो समयसम्म रुससँगको युद्ध थेग्न भने कठिन हुने विश्लेषण भइरहेको छ ।
प्रतिक्रिया