काठमाडौं—प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको आज प्रारम्भिक समीक्षा गर्दै छ । अभियानको समीक्षा र जनताको सुझाव–गुनासाको औपचारिक अध्ययनका लागि केन्द्रीय कार्यालयको बैठक आज बोलाइएको माओवादीले जनाएको छ । गत १२ फागुनदेखि सुरु भएको अभियानको क्रममा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र धनुषाका जनताले माओवादी नेतृत्वलाई गुनासा र सुझाव सुनाएका छन् ।
६ जिल्लाका जनताको गुनासा र सुझाव लिएर माओवादी नेताहरू काठमाडौं फर्किएका छन् । अभियानका क्रममा माओवादी नेतृत्वसँग जनताले हत्या, हिंसा, विभेद, सहकारी ठगी, मिटरब्याजीका पीडादेखि पहिचान र विकास निर्माणसम्मका विषय उठाएका छन् । सामाजिक रुपमा हुने अन्याय, अत्याचार, शोषण, दमनको विषय पनि जनताले उठाएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया