चार महिनादेखि व्यापारमा खडेरी लागेको नेपाली सिने क्षेत्रमा अब भने केही हरियाली छाउने आश जागेको छ । विवाद र मुद्दा मामिला झल्दै प्रदर्शनमा आएको नेपाली चलचित्र लाज शरणम्ले पहिलो दिनमा पाएको सफलताले फेरि चलचित्र क्षेत्रमा बहार छाउने सङ्केत गरेको हो ।
महाशिवरात्रिको अवसर पारेर गत बुधबारदेखि तीन वटा नेपाली चलचित्र हलहरुमा प्रदर्शनरत छन् । मायावी, फेरि रेसम फिलिली र लाज शरणम् । पहिले दिनै लाज शरणम्ले देशभरका हलहरूमा दुई सयभन्दा बढी शो पाउँदा फेरि रेशम फिलिलीले ७५ र मायावीले ६२ भन्दा बढी शो पाएका थिए । एकै दिन प्रदर्शनमा आएका यी तीन चलचित्रमध्ये तुलनात्मक रुपमा शो पनि बढी भएका कारण व्यापारिक हिसाबले समेत लाज शरणम् नै अघि देखिएको छ । प्रदर्शन अघि नै विवादमा मुछिएको लाज शरणम्ले पहिलो दिनको ग्रस कलेक्सन नै एक करोड १० लाख ग¥यो । पहिलो दिन सरकारी बिदा भएका कारण राम्रो व्यापार गरेको चलचित्रको कमाइ दोस्रो दिन केही घटे पनि सन्तोषजन व्यापार रहेको निर्माण पक्षको दाबी छ ।
हास्य कलाकारबाट स्थापित भएका कुमार कट्टेलको पहिलो निर्देशनमा बनेको लाज शरणम्को प्रचारप्रसारमा कलाकारदेखि खेलाडी, राजनीतिकर्मीसम्म सक्रिय छन् । प्राकृतिक रुपले सुन्दर कर्णालीबासीको दुःख पीडालाई देखाइएको चलचित्रले कर्णालीको आवाज बोलेको चलचित्र हेर्नेहरुको प्रतिक्रिया छ । कर्णालीकै कथा वस्तुलाई उठान गरेर बनाइएको चलचित्रले नेताहरूलाई दरिलो व्यंग्य प्रहार गरेको फिल्म हेरेका नेताहरूले नै बताएका छन् । लाज शरणम् हेरेपछि सबैभन्दा बढी लाज नेताहरूलाई लाग्ने जुम्लाबाट निर्वाचित सांसद ज्ञानबहादुर शाहीको टिप्पणी छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले समेत यस चलचित्रका लागि प्रमोसनल गीत बनाएका छन् । जसले चलचित्रको प्रचारमा थप बल मिलेको छ । उनकै रचना, संगीत संयोजन रहेको नेपाल हाँसेको शीर्षकको गीत अहिले पनि युट्युब टे«न्डिङको तेस्रो नम्बरमा छ । यो चलचित्र निर्माण टिममा रहेका तथा प्रमुख भूमिकामा रहेका मध्येका एक अर्जन घिमिरे ‘पाँडे’ मेयर बालेनका विश्वास पात्र मानिन्छन् । जसका कारण यो चलचित्रको प्रचारमा मेयर बालेनको टिमले समेत सहयोगी भूमिका खेलेको चर्चा छ ।
चलचित्रमा कलाकार सीताराम कट्टेल धुर्मुसको चरित्र निकै विवादमा तानिएको थियो । जिउँदो मान्छेलाई इँट्टाभट्टामा हालेर हत्या गरेको आरोपमा दोषी ठहर भई जेल सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद आफ्ताब आलमको चरित्र र आवरणसँग हुबहु मेल खाएको भन्दै राजनीतिक दल र सत्ताको विरुद्धमा भएको भत्रे हल्लाले चलचित्रलाई विवादमा तानेको थियो । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले कैँची चलाएपछि चलचित्र १८ मिनेट छोटिँदा २ घण्टा ४० मिनेटको बनेको छ । यद्यपि, दर्शकहरूले भने फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका छन् । जसले माउथ टु माउथ पब्लिसिटीमा मद्दत पुगिरहेको छ ।
बिहीबार अकुपेन्सीमा केही गिरावट आए पनि शुक्रबार र शनिबारको सार्वजनिक बिदाको दिन फिल्मले फेरि राम्रो कमाइ गर्नेमा निर्माण पक्ष आशावादी देखिन्छ । दशैं तिहारमा आएका चलचित्रहरूपछि खडेरी नै लागेको नेपाली चलचित्र बजारमा लाज शरणम्ले पाइरहेको चर्चा र सफलताले फेरि व्यापार चलायमान हुने आशा जगाएको छ । यसपछि पनि आशा गरिएका अरु राम्रा चलचित्रहरुसमेत प्रदर्शनको लाइनमा रहेकाले फेरि एकपटक नेपाली चलचित्र उद्योगले फड्को मार्ने चलचित्रकर्मी र आम दर्शकको अपेक्षा छ ।
प्रतिक्रिया