आज फागुन शुक्ल प्रतिपदा, शेर्पा समुदायसहित हिमाली आदिवासी समुदायले ग्याल्पो ल्होसार पर्व धुमधामका साथ मनाएका छन् । ल्होसार पर्वलाई नयाँ वर्षको रुपमा समेत मनाइन्छ । यो वर्ष सिङ्फो डुक ल्हो अर्थात ड्रागन मेघ वर्षको बिदाइ गरेर सिंङ मो डुल्ल लो अर्थात सर्प वर्षको स्वागत सहित २१५२ औं ग्याल्पो ल्होसार पर्व मनाइएको हो । फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने ल्होसार पर्व कसरी मनाइन्छ ? के छ त महत्व ?
प्रत्येक वर्ष भोट चन्द्र पात्रो अनुसार पहिलो महिनाको पहिलो तिथिदेखि पूर्णिमासम्म महायानी बौद्धधर्मावलम्बीहरुले हर्षोल्लासका साथ मनाउने पर्व हो ग्याल्पो ल्होसार । २१५१ औं सिङ्फो डुक लो अर्थात काठ पुरुष गरुड वर्षलाई बिदाइ गर्दै २१५२ औं सिंङ मो डुल्ल अर्थात काठ स्त्री सर्प वर्षलाई शेर्पा समुदायसहित हिमाली आदिबासीहरुले स्वागत गरेका छन् । भोट चन्द्र पात्रो अनुसार मुसा, गोरु, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरिएको छ ।
शेर्पा समुदायसहित हिमाली आदिवासी समुदायले ग्याल्पो ल्होसार अर्थात नयाँ वर्षको अवसरमा शुक्रवार देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी यो पर्व मनाएका छन् । १२ औं महिनाको २९ औँ तिथिको दिन नौ थरी गेडागेडी मिसाएर बनाइएको गुथुक खाने, त्यसपछि पहिलो एकाविहानै तालतैया वा धारा कुवामा गइ स्नान गरेर नागको पूजा गरी घ्यूको टीका लगाई फलफूल र धुपबत्ती चढाउने गरिन्छ । यसो गर्दा कुल देवाता खुसी हुने विश्वास छ । यसरी विधिपूर्वक पानी ल्याई घरको पुजा कोठामा भगवान बुद्ध वा कुल देवतालाई खुसी बनाई शुद्ध पानी, खप्से लगायत चढाएर टाशी मोलम अर्थात् मंगलवाचन गर्ने चलन छ । त्यसपछि विधिवत पुजा गरी पाँच तत्वमा आधारित छ्योतर( ध्वजा) घरको आँगनमा ठड्याउने र लुङतार÷लुङ्दार (पाताका) घरको धुरी माथि टाँङने गरिन्छ । त्यसपछि स–परिवार जम्मा भएर घरको ठुलाबडाबाट आर्शीवाद ग्रहण गर्ने र शुभकामना आदनप्रदान गरेर ल्होसारको सुरुवात गर्ने चलन छ । १५ दिनसम्म आफन्तजनसँग भेटघाट गर्ने र आर्शीवाद ग्रहण गर्दै ल्होसार मनाइन्छ ।
तेस्रो दिन आफन्तजन, गाउँले सार्वजनिक स्थानमा भेला भई धर्मपाल वा गाउँका रक्षकपालहरुलाई खुसी पार्न र वर्षभरि गाउँ वा समुदायमा विघ्न बाधा नहोस् सदैव शान्ति होस् भनी ल्होसारको ल्हसो (ल्हप्सो) पुजा गर्ने चलन छ । यस्तै ल्होसारको अवधिमा विभिन्न तीर्थहरुमा जाने बौद्ध दर्शनमा आधारित ध्वजा पाताका लगाउने र दीर्घायुका लागि पशुपंक्षी दान गर्ने गरेमा सदैव शान्ति मिल्ने जनविश्वास रहिआएको छ । ग्याल्पो ल्होसार भगवान बुद्धले ऋध्दि शक्ति निरन्तर १ देखि १५ दिनसम्म प्रदर्शन गरी आफूसँग प्रतिस्पर्धामा रहेका अबौध्द तीर्थाकहरु माथि विजय प्राप्त गरेको तिथि मितिमा आधारित महत्वपूर्ण उत्सव हो । यसलाई छ्योटुल दुछेन भनिन्छ भने नेपालीमा प्रातिहार्य भनिन्छ ।
ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । शीतल निवासमा राष्ट्रपतिको हातबाट फेमार काटेर ग्याल्पो ल्होसारको प्रारम्भ गरिएको छ । ल्होसारको अघिल्लो दिन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले फेमार काटेर ल्होसारको प्रारम्भ गरेका हुन् । हिमाली समुदायले सदियौँदेखि मनाउँदै आएको साँस्कृतिक पर्व ल्होसार अहिले राज्य संरचनाले समेत अपनत्व गरेको छ । यसलाई शेर्पा अगुवाहरुले महत्वपूर्ण उपलब्धिका रुपमा लिएका छन् ।
विगतमा शेर्पाको बाहुल्य रहेको क्षेत्र र घरघरमै सीमित ल्होसार पर्व अहिले राष्ट्रिय पर्वको रुपमा देश तथा विदेशमासमेत विभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनाउने गरिन्छ । ल्होसारको अवसरमा पारिवारिक भेटघाट शुभकामना आदानप्रदानमा मात्र सीमित नराखी साँस्कृतिक जागरणका हिसाबले पनि ल्होसारलाई राष्ट्रियकरण गराउन यस्ता साँस्कृतिक कार्यक्रमहरु महत्वपूर्ण कडी बनेको शेर्पा अगुवाहरुको भनाइ छ ।
१ सय ४२ जातजाति र १३४ भाषाभाषी रहेको मुलुकमा सबै जसो समुदायको चाड पर्व र संस्कृतिलाई राज्यले अपनत्व ग्रहण गर्नुलाई देशमा आएको परिवर्तन र पछिल्लो व्यवस्थाको प्रमुख उपलब्धिहरुमध्येको एउटा उपलब्धिको रुपमा हेर्ने गरिएको छ । ग्याल्पो ल्होसारलाई पनि यसैको एउटा कारक मान्न सकिन्छ । यस अवसरमा सम्पूर्ण शेर्पा समुदायसहित हिमाली आदिवासीहरुमा हाम्रो पनि शुभकामना ।
प्रतिक्रिया