काठमाडौं—पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध रोक्न र त्यहाँ शान्ति स्थापना कायम गर्न जोड दिइरहेका छन् । गएको हप्ताको सुरुमा अमेरिका र रुसी अधिकारीहरूले रुस–युक्रेन युद्ध अन्त्यका लागि साउदी अरबमा भेटघाट गरेका थिए । तर यो भेटघाटमा युक्रेनबाट कोही पनि प्रतिनिधि सहभागी भएका थिएनन् । अमेरिकाको रवैयाबाट युक्रेन मात्रै होइन पूरै युरोप जिल्ल भएको थियो ।
रुसले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण सुरु गरेको फेब्रुअरी २४ मा तीन वर्ष पूरा भएको छ । यस क्रममा युक्रेनले ठुलो भूभाग गुमायो । पश्चिमी देशहरूबाट पाइरहेको सैन्य सहयोगका कारण केही भूभाग फिर्ता लिन युक्रेन सक्षम पनि भएको छ । दसौँ लाख युक्रेनीहरू विस्थापित भएका छन् । हजारौँ मारिएका छन् । तीन वर्षसम्मको लडाइँपछि अहिले युक्रेनको १८ प्रतिशत भूभाग रुसको कब्जामा छ । युद्ध सुरु भएयता अमेरिका युक्रेनको सबैभन्दा ठुलो योगदानकर्ता रहँदै आएको थियो ।
बाइडेन प्रशासनले युक्रेनलाई ९५ अर्ब डलर मूल्य बराबरको सैन्य, मानवीय र वित्तीय सहायता दिएको थियो । तर डोनाल्ड ट्रम्प सत्तामा आएयता जसरी भएपनि युक्रेनमा युद्ध अन्त्य गरेरै छाड्ने कसम खाएका छन् ।


प्रतिक्रिया