सरकारको अलोकप्रयिताको फाइदा उठाउँदै प्रतिपक्षी दलहरुले भण्डाफोर अभियान सुरु गरेका छन् । राजावादीहरु पूर्वराजाको सम्बोधनले हौसिँदा उपनिर्वाचनको परिणाम र कार्यकर्ताले दिइरहेको न्यानो सत्कारले माओवादी हौसिएको छ । प्रतिपक्षमा पुगेको ६ महिनाको अवधिमा माओवादीले जनतासँग जोडिने आफ्नो अभियानलाई आक्रामक पारेको छ ।
प्रतिपक्षमा पुगेपछि माओवादीले सरकारको आलोचना गर्दै जनतामा जान आक्रामक अभियान सुरु गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि मर्निङ वाक र कार्यकर्ताको घरमै पुगेर खाजा, खाना खानेजस्ता गतिविधि ब्रान्ड नै बन्दा माओवादीले एकपछि अर्काे भण्डाफोर कार्यक्रम सुरु गरेको छ ।
यसैक्रममा सोमबार पनि प्रचण्ड यही अवतारमा देखिए । झापाको दमक नगरपालिकाको रतुवा खोला किनारमा मर्निङ वाकमा देखिएका प्रचण्ड केहीबेरपछि स्थानीय जनताको घरमा केराको पातमा खाना खाँदै गरेको अवस्थामा देखिए । जनयुद्धकालीन झल्को देखाउँदै प्रचण्ड अहिले जहाँ पुग्यो त्यही कार्यकर्ताका घरमा खाना खाँदै बात मार्ने गरेका छन् ।
पुस १३ गते कञ्चनपुरको पुनर्वासबाट खबरदारी सभा सुरु गरेका प्रचण्डले १५ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर ओलीकै फाइल खोल्ने चेतावनी दिएका थिए । त्यसको एक महिना बित्न नपाउँदै प्रचण्डले फेरि ओलीको किल्लाबाटै पार्टीको तराई मधेश जागरण अभियान सुरु गरेका छन् ।
पार्टीमा अन्तरसंघर्ष चर्किनु र उपमहासचिव जनार्दन शर्माले अर्को काउन्टर दिन सक्ने जोखिमका बीच झापाबाटै प्रचण्डले अर्को सन्देश पनि दिएका छन् । एकातर्फ जनार्दन र अर्कोतर्फ वर्षमान पुनलाई राखेर अंगालो मार्दै मर्निङवाक गरेका प्रचण्डले पार्टी एकढिक्का रहेको सन्देश प्रवाह गर्न खोजेका छन् । तर, प्रचण्ड यसरी धेरै समय सत्ता बाहिर रहन नसक्ने बुझेका जनार्दनले भने प्रचण्डलाई फेरि लोभ र मोहमा नफस्न खबरदारी गरेका छन् ।
यता प्रचण्डले ओलीको लालकिल्लाबाट चेतावनी दिँदै गर्दा उता माओवादीको लालकिल्लाबाट कांग्रेस महामन्त्री गगन थापाले अर्को तीर हानिसकेका छन् । अर्थात, माओवादीले गरेको हत्या र हिंसालाई जनयुद्ध नभई धनयुद्ध भएको करार गरिदिए ।
यसअघि माओवादीको जनयुद्ध नभई सो संघर्ष हिंसा भएको एमालेले ठोकुवा गर्दा माओवादीसँग टकराव रहँदै आएको थियो । तर, कांग्रेसले यसरी खुलेरै जनयद्धबारे बोलेको थिएन । अहिले गगनले ओली र एमालेकै भाषा बोलिदिएका छन् । एकातर्फ नेपालसँग सम्बन्धित शिर्षकमा अमेरिकाको फेरिँदो नीति र राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्तिले विश्वमै बदनाम भइरहँदा अर्कोतर्फ आन्तरिक समस्या झनै बढ्दै जानुले सरकार घेरिएको छ । यसैलाई मौका बनाएको माओवादीले प्रधानमन्त्रीको राजीनामा माग्नेदेखि ओली फेरि संसद विघटनको बाटोमा अग्रसर भइरहेको आरोपसम्म लगाइरहेको छ ।
आइतबार सापकोटाले नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा पर्नु सरकारको असफलता भएको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए ।
तर, एमालेले समेत काउन्टर दिन बाँकी राखेन । लगत्तै एमाले नेता राजन भट्टराईले माओवादी युद्धकालमा चन्दा, लुटपाट र अपहरणबाट जम्मा भएको अकुत सम्पत्तिलाई वैध बनाइएपछि देशको यो हालत बनेको जवाफ फर्काए । माओवादी सरकारमा आएकै समयदेखि आर्थिक अनियमितता बढेको आरोप लगाउँदै उनले ओलीले राजीनामा नभई प्रचण्डले राजनीतिबाट सन्यास लिनु पर्ने तर्क अघि सारे । फलतः प्रतिपक्षले हरेक गलत कामको अपजस सरकारमाथि थोपरेर गलाउनतर्फ लाग्दा सत्ता र प्रतिपक्षबीचको दूरी बढेको अर्थमा हेर्न थालिएको छ ।
पार्टीलाई २०६४ सालको अवस्थामा पु¥याउने आत्मविश्वाससहित प्रचण्ड देश दौडाहामा छन् । भलै उनको यो आत्मविश्वासमा कैयन प्रश्न हुन सक्छन् । तर, प्रतिपक्षमा पुगेको यो ६ महिनामा प्रचण्ड ४० भन्दा बढी कार्यक्रममा सहभागी भइसकेका छन् । दुई तिहाइको सरकार आलोचनाको चुलीमा रहँदा प्रचण्ड बास बसेकै ठाउँमा बिहान मर्निङ वाक, स्थानीयसँगै खानपिन र उनीहरुका समस्या सुन्ने गतिविधिले उनको मिसनलाई सफल बनाइरहेको छ । तर, एमसीसी र पूर्वराजाको सक्रियता तथा केही काण्डबारे बोल्दा आफैँमाथि ब्याक फायर हुनसक्ने अवस्था अझै सकिएको छैन । हिजो जंगल बसेर गाउँ ताकेका प्रचण्ड अब सहरमा शक्ति फैलाउन चाहन्छन् । तर, प्रतिपक्षमा बसेर जनताभन्दा सत्ताको तिजोरी खेल्न मन पराउने प्रचण्डको छटपटी कति दिनसम्म रोकिन्छ । त्यसले नै उनको पार्टीको भविष्य निर्धारण गर्नेछ ।


प्रतिक्रिया