राजनीति

पूर्वराजा भिड्दा बाबुरामलाई गालीको वर्षा, गगन भन्छन्– लोकतन्त्र गहना


प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिसंगै राजावादीहरु सल्बलाउन थालेका छन् । राप्रपाले आजदेखि देशव्यापी रुपमा व्यवस्थाविरुद्धको भण्डाफोर अभियान पोखराबाट सुरु गरेको छ । राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनःस्र्थापना गर्नुपर्ने मत राख्दै आएको छ ।


देशका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुई तिहाइको बलियो सरकारलेसमेत जनताको कामभन्दा पनि चरम निराशा र वितृष्णा छाउने काम गरेको र अब यो व्यवस्थाको विकल्प खोज्ने समय आएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थाविरुद्ध भण्डाफोर अभियान थालेको छ । शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखराबाट पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका विभिन्न शीर्ष नेताहरुको उपस्थितिमा अभियानको सुरुवात गरिएको हो ।

यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि देशैभर सञ्चालन गरिने राप्रपाले बताएको छ । प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको दुई दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भण्डाफोर अभियान सुरु गरेको हो । राजाको पछिल्लो अभिव्यक्तिपछि केही सुस्ताएका राजावादीहरु एकाएक हौसिएका छन् ।

पूर्वराजा शाहले जनताको भलोका लागि आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएसंगै पुराना राजनीतिक दलहरु भने शशंकित बनेका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक परिवर्तन मास्नका लागि पूर्वराजा शाहलाई उचाल्ने काम भइरहेको टिप्पणी गरेका छन् । एमालेको वडा केन्द्रित अभियान शुभारम्भ गर्न बुधबार कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२÷६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि अहिले फेरि पश्चगामीहरू सल्बलाउन थालेको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पूर्वराजाले हालै गरेको आह्वानमा समर्थन जनाउन सुझाव दिएका छन् । विगतमा भट्टराईले नै राजासँग सहकार्य गर्न सूत्रमार्फत प्रस्ताव गरेको उनले स्मरण गराएका छन् । पूर्वराजा शाहले ‘देश जोगाउनका लागि अब आफूलाई साथ दिन’ आह्वान गरेका थिए । उनको सो आह्वानले राजावादीहरूलाई उत्साहित बनाएको छ । उनीहरू अब देशमा राजतन्त्र फर्काउन निर्णायक संघर्ष गर्ने बताउन थालेका छन् । यही सिलसिलामा मिश्रले कट्टर गणतन्त्रवादी नेता डा. बाबुराम भट्टराईलाई लक्षित गर्दै एउटा भिडिओ मन्तव्य सार्वजनिक गरेका हुन् । मिश्रले भिडियोमा डा. भट्टराईले राजाको सम्बोधनमाथि तुच्छ अभिव्यक्ति दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बाबुराम भट्टराईले एक टेलिभिजन अन्तरवार्तामा लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ भनेर उदार भएर उहाँलाई छुट दिएको उल्लेख गर्दै ‘यस्तो निरंकुश राजा, जसले दरवार हत्याकाण्ड गराएको धेरैले शंका गरिराखेका छन्, उनी राजा हुने मान्छे नै होइनन्, वंश नाश भएर यिनी आएका छन्, बडो शंकाका विषय छ’ भनेका छन् । साथै उनले फेरि पनि देशको भू–राजनीतिक जटिलतालाई हेरेर गिजोल्याउन नचाहेको बताउँदै अगाडि भनेका छन्, ‘यिनले जबरजस्ती कु गरेर निरंकुश र अलोकतान्त्रिक हर्कत गरेको जनताले बिर्सेका छैनन् । त्यसबाहेक आर्थिक हिसाबले पनि उनको लगानी अपचलनका कुराहरू जनतालाई थाहा छ । बाह्य शक्तिसँग साँठगाँठ पनि गरेका छन्, जसले नेपालको संविधान, संघीयता र धर्मनिरपेक्षता रुचाइरहेका छैनन् ।’ साथै उनले सरकारले यसलाई गम्भीर ढंगले लिनुपर्ने र उनलाई आवश्यक नियन्त्रणमा लिनु पर्ने धारणा राखेका छन् । त्यसो त पूर्वराजाको अभिव्यक्तिप्रति प्रमुख दलका शीर्ष नेताहरुले खुलेर आलोचना गरेका छैनन् । केही नेताले उनको अभिव्यक्तिको विरोध गरे पनि प्रमुख नेतृत्वले मुख नखोल्नुले आश्चर्यमा पारेको छ । यता पूर्वराजाको अभिव्यक्तिपछि हौसिएको राप्रपा देशका सातै प्रदेशका प्रमुख सहरहरुमा भण्डाफोर अभियान लिएर जनतामाझ जान कसिएको छ ।

शुक्रबार गण्डकी प्रदेशको पोखराबाट भण्डाफोर अभियान सुरु गरेको राप्रपाले लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते, मधेश प्रदेशको जनकपुरमा फागुन २१ गते, बागमती प्रदेशको काठमाडौंमा फागुन २५ गते र कर्णाली प्रदेशको सुर्खेतमा फागुन २७ गते कार्यक्रम गर्ने तय भएको छ । भण्डाफोर सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्ने छन् । पूर्वराजाको अभिव्यक्तिपछि हौसिएको राप्रपाको यो भण्डाफोर अभियानले राजसंस्था र हिन्दु राज्य पुनःस्थापनाको एजेन्डालाई स्थापित गर्न कुन रुपमा प्रभावकारी भूमिका खेल्छ ? त्यो भने पर्ख र हेरको अवस्थामा छ । पूर्वराजाको अभिव्यक्तिले विगतमा पनि हौसिएकाहरु फेरि यसपटक पनि ‘हात्ती आयो हात्ती आयो, फुस्सा’को अवस्थामै पुग्ने पो हुन् कि ?