Breaking

शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ


नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन् ।

एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२र०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे ।

‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन् ।’ महासचिव पोखरेलले भने, ‘राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ ।’

राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ ।’ पोखरेलले कार्यकर्तालाई भने, ‘अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस् ।’ पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए ।