राजनीति

ओली : प्रश्नभन्दा उत्तर कडा, वर्षमान र प्रभुले भेटे, बैठकमै सभामुखसँग बाझाबाझ, १० प्रश्नको जवाफ (भिडियो)


प्रतिनिधिसभा नियमावली २०७९, को परिच्छेद ९ अन्तरगत प्रत्येक महिनाको पहिलो हप्ताको एक घण्टा प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोधिने प्रावधान अनुसार आइतबार १० सांसदले प्रश्न सोधेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोध्ने क्रममा सदनमा सांसद र प्रधानमन्त्रीबीच नोकझोक नै चल्यो । आमजनता पार्टीका सांसद प्रभु साहले प्रधानमन्त्रीलाई सोधेको प्रश्न आपत्तिजनक भएको भन्दै ओलीले जवाफ दिन अस्वीकार गरे । प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा अन्तिम एवम् १० औँ प्रश्नकर्ताका रूपमा उभिएका सांसद साहले विभिन्न राजनीतिकदेखि कूटनीतिक विषयसम्म समेटेर ८ प्रश्न सोधेका थिए । जसमा कूल जीडीपीको झण्डै एक तिहाई मात्र राजस्व उठाएको भन्दै यस्तो कर आतङ्कले अर्थतन्त्र कसरी उभो लाग्छ भन्दै प्रश्न गरेका थिए । साथै वैदेशिक रोजगारमा गएका नेपाली मजदुरले विदेशमा आफ्नो ट्रेड युनियनको हक नपाउने गरी श्रम सम्झौता किन गर्नुभयो ? भन्दै प्रश्न गरेका थिए । जवाफमा ओलीले विरोध र घृणाको आक्रोश पोखेको भन्दै जवाफ दिन इन्कार गरे ।

पूर्वअर्थमन्त्री तथा माओवादी सांसद वर्षमान पुनले अर्थतन्त्रका विषयमा प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । माओवादी पार्टीका उपमहासचिव पुनले अर्थतन्त्रमा शिथिलता आएको बताउँदै जनताको चुलो महँगिएको बताए । पुनले अर्थतन्त्रदेखि अध्यादेशसम्मका प्रश्नहरू प्रधानमन्त्रीलाई तेस्र्याए । जसको जवाफमा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न, विकास निर्माणका गतिविधिलाई तिब्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले रणनीतिक सडक सहितका योजनामा जवाफ मागेका थिए । सांसद ज्वालाको प्रश्न थियो, ‘तामझामका साथ शिलान्यास गरेका १६५ निर्वाचन क्षेत्रीय रणनीतिक सडकहरू बजेटको अभावमा अलपत्र र अधुरा छन् किन ?’ जवाफमा प्रधानमन्त्री ओलीले आफूले अगाडि सारेका योजना आफूपछिका सरकारले प्राथमिकतामा नराखिदिएको बताए ।

सांसद प्रेम सुवालले समाजवादलाई कार्यान्वयन गर्न के काम गरिरहेको छ ? र ठूला ठूला भ्रष्टाचारी र मानव अधिकारको उल्लङ्घन गर्नेलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने जवाफ फर्काए । प्रधानमन्त्री ओलीलाई यसबाहेक प्रतीक्षा तिवारी, प्रतिमा गौतम, प्रकाशशरण महत, प्रभु हजरा, प्रेमबहादुर आले, प्रेमबहादुर महर्जनले प्रश्न गरेका थिए ।