राजनीति

नयाँ शक्तिको महाधिवेशनमा मतगणना जारी : भट्टराईले ६८२ मत पाउँदा चापागाईंले ७१ मत पाए


काठमाडौं—नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को काठमाडौं भएको प्रथम महाधिवेशनमा मतगणना जारी छ । जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा.बाबुराम भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत पाएका छन् । निर्वाचन समितिका अनुसार अब अनलाइन मतदान भएका केही मत गन्न बाँकी छ । मतगणनामा सहभागी एक नेताका अनुसार प्रवासमा रहेको ५५ मतमध्ये केहीले मात्रै अनलाइनबाट मतदान गरेका थिए । यस्तै गणना भएको मतमध्ये उपाध्यक्षका प्रत्यासी ईश्वर रिजालले ३७४ मत पाएका छन् भने डा. जनक शाहले ३२२ मत पाएका छन् ।

जनजाति उपाध्यक्षमा टेकबहादुर बाठामगरले २९५ मत ल्याएर अग्रस्थानमा छन् । अन्य प्रत्यासीहरू दलबहादुर लिम्बुले १५२, रामबहादुर घलेले ११५ र अनुप सिंह सुवाले ९७ मत ल्याएका छन् । मधेशी उपाध्यक्षमा उमेश शाह ३५१ मत प्राप्त गर्दा चिनक कुर्मीले ३५१ मत प्राप्त गरेका छन् । महासचिवमा सोनाम सिंह स्याङ्तानले ३७४ मत ल्याउँदा जिएस गुरुङ (घमान सिंह) ले ३३६ मत प्राप्त गरेका छन् । त्यस्तै, महिला सचिवमा आशाकुमारी तामाङले २७२ मत ल्याउँदा सिर्जना रिजालले २६३ र सिर्जना सुवेदीले १५३ मत प्राप्त गरेकी छन् । खुला सचिवमा भरतराज दाहालले ३४१ मत प्राप्त गर्दा लक्ष्मण कार्की सन्देशले ३१५, छन्दबहादुर पन्थीले २४६ र दान बहादुर सहकारीले १९९ मत प्राप्त गरेका छन् ।