अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपछि अर्को निर्णय विवादित र आलोचित बनेका छन् । कर नीति लागु गरेर मित्र राष्ट्रहरुलाई चिढ्याएका ट्रम्प अहिले गाजा क्षेत्र नियन्त्रणमा लिने अभिव्यक्तिपछि घेराबन्दीमा परेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादका पर्याय नै बनेका छन् । सत्तामा हुँदा होस् या सत्ता बाहिर हुँदा, अनेक हर्कतका कारण सधैँ विवाद र चर्चाकै वरिपरि रहने ट्रम्प दोस्रो पटक ह्वाइट हाउसमा कमब्याक गरेयता हरेक दिन एकपछि अर्को निर्णयले विवाद र चर्चाको चौघेरामा छन् । उनका विवादास्पद निर्णयले शक्ति राष्ट्रहरु मात्र नभइ साना राष्ट्रसमेत ट्रम्पसँग चिढिँदै गएका छन् । अमेरिकी पहिलो नीति लिएको ट्रम्प प्रशासनको विरोध चुलिँदो अवस्थामा छ ।
इजरायल–गाजा
राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाल्नु अघि दवाव नै दिएर इजरायल–गाजा युद्धविराम गराए । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम कार्यान्वयनमा गएपछि बन्धक रिहाइ प्रक्रिया अघि बढ्यो । तर राष्ट्रपतिको पदभार सम्हाल्नासाथ हतार हतार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई ह्वाइट हाउसमा बोलाएर दुईपक्षीय भेटवार्ता गरेका ट्रम्पले गाजापट्टी आफ्नो नियन्त्रणमा लिने र त्यस क्षेत्रको विकास गर्दै अन्तर्राष्ट्रिय क्षेत्र बनाउने अभिव्यक्ति दिए । जसका कारण पछिल्लो समय उनी चौतर्फी घेराबन्दीमा परेका छन् ।
अमेरिकाभित्रै ट्रम्पको निर्णयको विरोध भइरहेका बेला गाजामाथि नियन्त्रण कायम गर्ने उनको निर्णयप्रति शक्ति राष्ट्रहरु आक्रामक देखिएका छन् । गाजा नियन्त्रणमा लिने र प्यालेस्टिनीहरुलाई अन्यत्रै सार्ने अभिव्यक्तिले अहिले ट्रम्प चौतर्फी घेरिएका छन् । ट्रम्प प्रशासन एकातिर र सिंगो विश्व अर्कोतिर उभिएको अवस्था छ भन्दा फरक पर्दैन ।
प्यालेस्टिनी समूह हमास, प्यालेस्टाइन, इजिप्ट, बेलायत, फ्रान्स, रुस, साउदी अरब, चीन, अस्ट्रेलिया, टर्कीदेखि नर्थ कोरियाले समेत ट्रम्पको निन्दा गरिरहेका छन् । १५ महिना लामो युद्धले थिलथिलो बनेको गाजापट्टी ट्रम्पको टिप्पणीपछि फेरि युद्धमा होमिने संकेत देखिएको छ । हमास समूहले इजरायलमाथि युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहाइमा रोक लगाएको छ । यता इजरायलले शनिबारसम्म बन्धक रिहाइ नगरे फेरि युद्ध सुरु गर्ने चेतावनी दिएको छ ।
ट्रम्प प्रशासनको कर नीति
अमेरिकामा ट्रम्पको पुनरागमनसँगै अमेरिका–चीन व्यापार युद्ध सुरु भएको छ । ट्रम्पले चीनको सामानमा १० प्रतिशत करको घोषणा गर्दा चीनले पनि १५ प्रतिशत जवाफी कर लगाएको छ ।
छिमेकी मुलुक मेक्सिको र क्यानडाका सामग्री आयातमा २५ प्रतिशत कर लगाएको ट्रम्प प्रशासनलाई क्यानडा र मेक्सिकोको जवाफी कारबाहीपछि ट्रम्प आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका छन् । यी दुवै देश सीमा क्षेत्रमा लागुऔषधको आपूर्ति रोक्न १० हजार सैनिक तैनाथ गर्न तयार भएको भन्दै घोषणा गरिएको कर ३० दिनलाई स्थगित गरिएको छ । यस्तै पानमा, केनल ग्रीनल्यान्डलाई लिएर ट्रम्पले दिएको अभिव्यक्तिका कारण क्यानडा र डेनमार्क आक्रोशित बनेका छन् ।
युएसएआईडी बन्दको विरोध
अमेरिकी सहयोग नियोग यूएसएआईडी बन्द गर्ने ट्रम्प प्रशासनको निर्णयको विश्वभर निन्दा भइरहेको छ । ९० दिनपछि केही वैदेशिक सहयोगमा पुनर्विचार हुने भए पनि यूएसएआईडीमार्फत सिधा रूपमा भइरहेको सहयोग रोकिने ट्रम्पको निर्णयविरुद्ध देशभित्रै पनि विरोध भइरहेको छ । साथै, बिदा दिइएका कर्मचारीहरु अदालतको ढोका ढकढकाई रहेका छन् ।
आप्रवासी फिर्ताको मुद्दा
अवैध ढंगले अमेरिकामा बस्दै आएका आप्रवासीहरुलाई फिर्ता गर्ने कार्यलाई तिव्रता दिएको ट्रम्प प्रशासनविरुद्ध भारतसहित विभिन्न मुलुकहरुले आपत्ति जनाएका छन् । अवैध आप्रवासीहरुमाथि अमानवीय व्यवहार गरिएको भन्दै ट्रम्प विरोधी प्रदर्शन भइरहेका हुन् । ट्रम्पको ‘अमेरिका फस्ट’ नीतिले वासिङ्टनको विश्व नेताको हैसियत कमजोर हुने विश्लेषण हुन थालेको छ ।


प्रतिक्रिया