नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विगत सात महिनादेखि प्रमुख प्रतिपक्ष बेन्चमा छन् । कांग्रेस–एमाले समीकरण बनेपछि सत्ताच्युत भएका प्रचण्ड पार्टी संगठन सुदृढीकरणका लागि जुन रफ्तारमा देश दौडाहामा छन्, त्योभन्दा तीव्र रुपमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउने रणनीतिमा सक्रिय छन् ।
कहिले एमाले त कहिले कांग्रेससँग कुम जोडेर डेढ वर्ष सत्ताको बागडोर सम्हालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात महिनादेखि प्रतिपक्षी बेन्चमा छन् । यो अवधिमा उनले प्रतिपक्षी दलको मोर्चाबन्दी नै कसिरहेका छन् । गत असार १७ गते मध्यरातमा संसदका दुई ठुला दल कांग्रेस एमाले एकढिक्का भएपछि, जादुयी नम्बरले काम नगर्दा प्रतिपक्षमा थन्किएका प्रचण्डको पछिल्लो सात महिना नियाल्ने हो भने सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुइल्याउनमै बढी समय व्यथित भएको छ ।
प्रतिपक्षमा पुगेपछि अच्चानक पार्टीको यादले झस्किएका उनी संगठन सुदृढीकरण भन्दै देश दौडाहाको रफ्तारमा निस्किए । तर यो अवधिमा उनले पार्टी संगठनलाई मजबुत बनाउनेभन्दा पनि सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली र एमालेलाई केन्द्रमा राखेर सकेजति आरोप लगाउने र आलोचना गर्न समय खर्चिए । तर ओलीमाथि निसाना साँधेका प्रचण्ड ओलीकै सत्ता सहयात्री कांग्रेस सभापति शेरबहादुर देउवाप्रति नरम देखिँदै आएका छन् ।
प्रचण्डसँगै सिंगो माओवादी पार्टी नै सडकदेखि सदनसम्म र सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालसम्मै ओलीलाई लखेट्न सक्रिय देखिन्छ । यस्तै, समाजवादी मोर्चा ब्युँताउने, मधेशवादी दलहरुलाई एकढिक्का गर्ने, गणतन्त्रवादी र राजावादीहरुसँग मोर्चाबन्दी कसेर ओलीविरुद्ध आक्रामक देखिएका प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग्नसमेत भ्याए । पछिल्लो समय प्रचण्ड सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछाने बोक्ने र सरकारले ल्याएको अध्यादेश रोकेर ओली गलाउने रणनीतिमा लागेका छन् । अल्पमतमा परेको राष्ट्रिय सभामा मात्र होइन बहुमत प्राप्त प्रतिनिधिसभामा पनि प्रतिपक्ष सत्तालाई भारी परिरहेको छ । प्रतिपक्षलाई पेलेरै जाने रणनीतिसहित अघि बढेको सरकारलाई सदनमा प्रतिपक्षी सांसदहरुले ¥याख¥याख्ती पारिरहेका छन् । मंगलबारको संसद बैठकमा सत्तारुढ दल कांग्रेसका सांसद रामहरि खतिवडाले दिएको लामिछाने लक्षित अभिव्यक्तिमा रास्वपाले नियमापत्ति जनायो । जहाँ माओवादी केन्द्रका सांसदहरु पनि ज¥याकजुरुक्क उठेर सदन अवरोधमा समर्थन जनाए ।
बहुमतको बलमा ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेश प्रचण्डकै अंक गणितका कारण अहिले संसदमा अलपत्र अवस्थामा पुगेको छ । राष्ट्रिय सभामा ठुलो दलको हैसियतमा रहेको माओवादीकै कारण सरकार आफैँले जारी गरेको आधा दर्जन अध्यादेश एक सिट जुटाउन नसक्दा कार्यसूचीमा समेत चढाउन डराइरहेको छ । जसका कारण प्रतिनिधिसभामा दुई तिहाइ बहुमत भए पनि राष्ट्रिय सभामा अल्पमतमा पर्दा प्रचण्डको पेलानले ओली सरकार निरीह बनेको छ । हरेक सार्वजनिक मञ्चमा गिरीबन्धु प्रकरणदेखि सरकारको सुशासन एजेन्डासम्म प्रश्न उठाउँदै प्रचण्डले ओलीमाथि प्रहार गर्दै आएका छन् ।
त्यसो त माओवादी अध्यक्ष प्रचण्डले प्रतिपक्षी कित्ताको नेतृत्व गर्न खोजे पनि त्यसमा सफल हुन सकेका छैनन् । प्रतिपक्षमै रहे पनि उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल लगायत केही दलले प्रचण्डको मोर्चालाई साथ दिन नसकिने अडान लिए पछि सरकारविरुद्ध घेराबन्दी बढाउने उनको चाहना केही तुहिएको देखिन्छ । यद्यपि, पार्टीभित्रको समेत गुटगत झगडालाई व्यस्थापन गर्दै प्रतिपक्षी भूमिकामा खरो रुपमा प्रस्तुत भइरहेका प्रचण्डले सरकारविरुद्ध घेराबन्दी बढाउँदै लगेका छन् । माओवादी नेताहरु हुल नै बाँधेर योजनाबद्ध ढंगले ओली तह लगाउने रणनीतिमा सक्रिय भएका छन् । जसको उदाहरण हालै सार्वजनिक भएको एमाले महासचिव शंकर पोखरेल र माओवादीका उपमहासचिव वर्षमान पुनबीच भएको गोप्य संवादलाई लिन सकिन्छ । गोप्य संवादलाई पुनले जुन रुपमा मिडियामा ल्याए त्यसको खण्डन त भयो तर यसले एमालेको बदनाम गरेको विश्लेषण भइरहेको छ ।


प्रतिक्रिया