खेलकुद

नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश


काठमाडौं—सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी २४औँ आहारारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पुलिसले चर्च ब्वाइजलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । बुधबार कास्कीस्थित पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन सञ्जीव लामाले निर्णायक गोल गरे ।

खेलको पहिलो हाफमा बराबरीमा समाप्त भए पनि सञ्जीवले ५८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रतामा राखेका थिए । मोफसल कै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको आहा रारा गोल्डकपको २४औँ संस्करण आइपुग्दा यो २५० औँ खेल हो । जितसँगै फाइनलमा प्रवेश गरेको पुलिसले अब उपाधिका निम्ति आगामी शनिबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र नेपालकै थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।