अन्तर्राष्ट्रिय

ट्रम्पले अमेरिकाको सत्ता सम्हालेपछि २० जना नेपालीहरु डिपोर्ट


काठमाडौं—डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएका छन् । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको अध्यागमन कार्यालयको तथ्यांकले जनाएको छ । ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ । उनका अनुसार अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ । ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् ।