१५ महिना लामो युद्ध अन्त्य गर्दै युद्धविराम सम्झौता कार्यान्वयन गरिरहेको इजरायल र हमास समूहबीच फेरि विवाद चुलिएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अडानले इजरायल–हमासबीच फेरि द्वन्द्व चर्किने डर पैदा भएको छ ।
१५ महिना लामो समय युद्ध लडेका इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच फेरि द्वन्द्व चर्किने चिन्ता थपिएको छ । हमास समूहले इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोपसहित अर्को सूचना जारी नभएसम्म हमासको कब्जामा रहेका बन्धक रिहाइको कार्य स्थगन गरेको छ । हमासले इजरायलले युद्धविराम सम्झौतामा उल्लेखित प्रतिबद्धताहरुको पूर्ण पालना नगरेसम्म बन्धक रिहाइ कार्य अघि नबढ्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विस्थापित प्यालेस्टिनीलाई गाजाको उत्तरी भागमा फर्किन दिन ढिलाइ गरेको, घर फर्किनेमाथि गोली चलाएको र गाजामा मानवीय सहायता सामग्री प्रवेश गर्न नदिएको आरोप हमास समूहको छ । कतार र अमेरिकाको मध्यस्थतामा गत जनवरी १६ मा ६ साताका लागि इजरायल र हमासबीच अस्थायी युद्धविराम सम्झौता भएको थियो ।
जनवरी १९ मा इजरायलको मन्त्रिपरिषदले उक्त सम्झौता पारित गरेपछि बन्धक र कैदीबन्दीहरु रिहाइ प्रक्रिया सुरु भएको थियो । युद्धविराम सुरु भएयता हमासले आफ्नो नियन्त्रणमा रहेका १६ इजरायली र ५ थाई गरी २१ जना बन्धकलाई रिहा गरिसकेको छ भने इजरायलले पनि पाँच सय ६६ जना प्यालेस्टिनी कैदी बन्दीलाई रिहा गरेको छ । यसअघिको तथ्याङ्क अनुसार अझै दुई सय ३० जना इजरायली हमासको कब्जामा छ ।
इजरायल–हमास द्वन्द्व र ट्रम्प
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पकै दवावमा बन्धक रिहाइ र युद्धविराम सम्झौतामा सहमत भएर कार्यान्वयन थालेका इजरायल–हमास अहिले ट्रम्पकै कारण आमनेसामनेको अवस्थामा पुगेका छन् । ट्रम्पको निमन्त्रणामा फेब्रुअरी दुईमा अमेरिका पुगेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र ट्रम्पबीच मंगलबार दुईपक्षीय कुटनीतिक भेटवार्ता भयो ।
उक्त भेटवार्तापछि ट्रम्पले गाजा क्षेत्रलाई अमेरिकाको नियन्त्रणमा ल्याउने अभिव्यक्ति दिए । इजरायल ट्रम्पको पक्षमा मात्र उभिएन कि गाजा क्षेत्रमा रहेका प्यालेस्टिनीहरुलाई अन्यत्र जान उर्दी नै जारी गर्न भ्यायो । ट्रम्पको अभिव्यक्तिपछि चिढिएको हमास समूह अहिले बन्धक रिहाइ नगर्ने मनस्थितिमा पुगेको छ ।
हमासको अडानमा अमेरिकी राष्ट्रपति ट्रम्प थप आक्रामक बनेका छन् । युद्ध विराम उल्लंघनको नाममा हमासले बन्दी रिहाइको प्रक्रिया रोक्ने चेतावनी दिएपछि ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम नै भंग गर्ने चेतावनी दिएका हुन् । बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मको समय दिएका ट्रम्पले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुन सक्ने चेतावनी दिएका छन । इजरायल अमेरिका एक हुँदा यता सिंगो अरब मुलुक ट्रम्पसँग चिढिएका छन् । उनीहरुले गाजामाथि नियन्त्रण कायम गर्ने ट्रम्पको योजनाको विरोध गर्दै आएका छन् । फलतः इजरायल–गाजा युद्धविराम फेरि अन्यौततर्फ धकेलिएको छ ।


प्रतिक्रिया