Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

अन्तर्राष्ट्रिय

ट्रम्प शासनमा कर द्वन्द्व चर्किंदै, स्टिल र शक्ति राष्ट्रलाई करबाटै पेल्दै


अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले शपथ लिएसँगै करको कहरले विश्वलाई तरंगित बनाएको छ । विशेष गरी आफ्ना छिमेकी र प्रतिष्पर्धी राष्ट्रप्रति आक्रामक देखिएका ट्रम्पले फेरि पनि स्टिल र आल्मोनियममा थप २५ प्रतिशत कर लगाउने भएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भित्रिने स्टिल र आल्मुनियममा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । स्थानीय समय अनुसार आइतबार कर बढाउने बताएका उनले पूर्ण घोषणा भने सोमाबार गर्दै छन् । ट्रम्पले कुनै निश्चित देशभन्दा पनि सबै देशबाट आयात हुने आल्मुनियम र स्टिलमा कर लगाउने घोषणा गरिएको बताएका हुन् । तर, ट्रम्पको यो कदमले सबैभन्दा बढी क्यानडा र मेक्सिकोलाई असर पार्ने देखिन्छ । किन भने क्यानडा र मेक्सिको अमेरिकाका प्रमुख दुई ठुला स्टिल व्यापार साझेदार हुन् । त्यस्तै क्यानडाबाट उत्पादन हुने आल्मुनियमको ठूलो बजार अमेरिका हो । तर, अमेरिकी अर्थतन्त्रमा क्यानडाबाट आउने स्टिल र आल्मुनियमको लगानीसँग अमेरिकामा लाखौं रोजगारीहरू जोडिएका कारण ट्रम्पले स्टिल र आल्मुनियममा कर बढाउँदा अमेरिकालाई पनि त्यसले ब्याक फायर हुने देखिन्छ ।

ट्रम्पले यसअघि पनि आफ्नो पहिलो कार्यकालमा क्यानडा, मेक्सिको र युरोपियन युनियनबाट आयात हुने स्टिलमा २५ प्रतिशत र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए । यद्यपि, त्यसको एक वर्षपछि अमेरिकाले मेक्सिको र क्यानडामाथि लगाइएको कर हटाएको थियो । यता युरोपियन युनियनलाई लगाइएको कर भने सन् २०२१ सम्म यथावत् राखिएको थियो ।

अमेरिकाले यसअघि पनि मेक्सिको र क्यानडामाथि आयातित वस्तुमा २५ प्रतिशत र चीनमाथि १० प्रतिशत कर थोपरिसकेको छ । जसको प्रतिवादमा क्यानडाले पनि अमेरिकी सामानमा २५ प्रतिशतले नै कर बढाएको थियो भने चीनले समेत ‘टिट फर ट्याट’ भन्दै सोमबारदेखि लागु हुने गरी अमेरिकी सामानमा थप १० प्रतिशत नयाँ आयात शुल्क लगाएको छ । चीनले घोषणा गरेको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ । त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मेसिनरी र ठूला इन्जिनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क लगाइएको छ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरूबीच व्यापार युद्ध बढ्दै गइरहेको र अझै कैयौँ देशहरूमा आयात शुल्क लगाउने धम्की आइरहेको परिप्रेक्षमा साना अर्थतन्त्र भएका राष्ट्रहरूलाई भने मार पर्ने जोखिम बढेर गएको छ । जसले विश्व अर्थतन्त्रमै असर पार्ने भन्दै चिन्ता व्यक्त भइरहेको छ ।