सोमबार बसेको प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पाँचौँ बैठक सकिएको छ । सर्वसहमतिले सुरक्षित कारोबार विधेयक पारित हुनेदेखि समसामायिक मुद्दा उठेको बैठकमा गृहमन्त्री रमेश लेखक सबैको घेरामा परे ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठक करिब तीन घण्टा चल्यो । दुई घण्टा ५५ मिनेट चलेको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसहमतिले पारित भएको छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरेको अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव उपर सांसदहरूले छलफल गरेका थिए । अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सर्वसहमतिले सदनबाट उक्त विधेयक पारित भएको हो ।
यसअघि शून्य र आकस्मिक समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रसँगै समसामायिक विषयमा बोल्दै सरकारको ध्यानाकर्षण गराए । यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली महिलाहरूलाई गैरकानुनी ढङ्गले कुवेत पु¥याउनेलाई कारबाही गर्न माग गरे । सरकारले झन्डै १० वर्ष अघि कुवेतमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन प्रतिबन्ध लगाए पनि अहिले त्यहाँ काम गर्ने नेपाली महिलाहरूको संख्या दुई गुणाले बढेर ५० हजार हाराहारीमा पुगेको उनले बताएका छन् ।
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच र अनुगमन गर्न सभामुखको ध्यानाकर्षण गराए । त्यस्तै कांग्रेस सांसद मोहनबहादुर बस्नेतले हाइड्रोपावरका कारण सिन्धुपाल्चोकको भोटेकोशीमा आगलागी भएको भन्दै कानुनी कारबाही गर्न माग गरेका छन् ।
सोमबारको बैठकमा सबैभन्दा बढी गृहमन्त्री रमेश लेखक सांसदहरूको घेरामा परे । प्रहरी सङ्गठनमा राजनीतिक हस्तक्षेप गरेको र अन्तरजातीय विवाहमा गृहमन्त्रीको भूमिकालाई लिएर सांसदहरूले उनलाई निशाना बनाए । रास्वपा सांसद सुमना श्रेष्ठले आइतबार प्रहरी विधेयकमाथि छलफल गर्दैगर्दा राजनीतिक नियतमा शंका नगर्नुस् भन्ने गृहमन्त्रीको भनाइलाई स्मरण गराउँदै आइतबार राति नै राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको विषय उठाइन् ।
राज्यले नै संविधान नमानेको अर्का रास्वपा सांसद सन्तोष परियारले आरोप लगाए । हरेक वर्ष प्रेम गरेकै कारण दलितहरू उठिबास लाग्नुपर्ने परिस्थितिको सिर्जना हुँदा राज्यका संयन्त्रहरू नै दलितका अधिकार कुल्चिन प्रयोग भएको भन्दै असन्तुष्टि पोखे ।
नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले वन तथा वातावरण मन्त्रालयको नाम फेर्न प्रस्ताव गरेका छन् । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरणका निम्ति मन्त्रालयले ध्यान दिनु पर्ने बताएका उनले वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई मन्त्रालयको नाम फेरेर जलवायु परिवर्तन राख्न सुझाए ।
त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बर्दगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको घटना उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गरे । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नाजीवादी शैलीमा गरिब र विपन्नहरूमाथि अन्याय गरिरहेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई हिटलरको संज्ञा दिन भ्याए । प्रतिनिधिसभाको अर्काे बैठक माघ २९ गते मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।


प्रतिक्रिया