नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले पार्टी नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका छन् ।
काठमाडौंमा जारी पार्टीको प्रथम महाधिवेशनमा संयोजक भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका हुन् ।
‘महाधिवेशनको उद्घाटन सत्रपछि सचिवालय बैठकमा उहाँले म नेतृत्व हस्तान्तरण गर्न चाहन्छु, तेस्रो पुस्ताका साथीहरू सल्लाह गरेर टिम बनाउनुहोस्, म वैचारिक नेताको भूमिकामा बस्न चाहन्छु भन्नुभएको हो,’ प्रवक्ता कृष्ण शर्माले भने ।
प्रवक्ता शर्माका अनुसार सोमबार बिहान बसेको सचिवालय बैठकमा पनि भट्टराईले सोही प्रस्ताव अगाडि सारेका छन् । ‘उहाँले आइतबार साँझ र आज बिहान पनि उही प्रस्ताव दोहोर्याउनु भयो तर सचिवालयका सबैजसो साथीहरूले अहिले परिस्थिति त्यस्तो नरहेकोले उहाँलाई नै अध्यक्षमा दोहोर्याउन सहमत गराएका छौं,’ उनले भने ।
सचिवालय बैठकमा अधिकांश नेताहरूले वैकल्पिक शक्तिहरू ध्रुवीकरणको क्रममा नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न प्रस्ताव गरेपछि भट्टराई अध्यक्षमा उम्मेदवारी दिन तयार भएको प्रवक्ता शर्माले जानकारी दिए ।


प्रतिक्रिया