राजनीति

रविको मुद्दा : ओली बदनाम, कांग्रेसलाई सत्ताको नाफैनाफा


एमाले नेतृत्वको सरकारमा सबैभन्दा बढी लाभ कांग्रेसलाई मिलिरहेको छ । एमालेकाभन्दा बढी कांग्रेसका मन्त्रीहरु कामको लय र चर्चामा छन् । कम्युनिष्टलाई भिडाएरै सबैभन्दा बढी लाभ लिएको कांग्रेस आफ्ना मुद्दालाई बलियो बनाउन पनि एमालेलाई हतियार बनाइरहेको छ । जहाँ कांग्रेसकै मुद्दा बोकेर सत्ता जोगाउनु पर्ने बाध्यतामा रहेको एमाले भने प्रतिपक्षी दलहरुको तारो बनिरहेको छ ।।

सत्तामा सबैभन्दा बढी लाभ कसैलाई मिलेको छ भने त्यो हो नेपाली कांग्रेस । जसको बुँदागत रुपमा चर्चा गरौं । सुरुवातमा, कांग्रेसका १० मन्त्रीसहित दुई राज्यमन्त्री सत्तामा छन् । जसमध्ये गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र ऊर्जामन्त्री दीपक खड्का कामको हिसाबले केही लय, चर्चा र विवादमा छन् । सहकारी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको मुद्दा जोडतोडले सदनमा उठाएका लेखक पार्टी र आफ्नै प्रतिष्ठाका लागि गृहमन्त्रीको हैसियतले यो मुद्दा कसैगरी पार लगाउन चाहान्थे । नभन्दै गृहमन्त्री भए पश्चात लामिछानेको मुद्दालाई रफ्तारमा अघि बढाएका लेखककै बलमा झण्डै ५ महिनादेखि रवि कानुनी झमेलामा मात्रै फसेका छैनन् कि उनको सांसद पद नै निलम्बन भइसकेको छ । कांग्रेसको यस मुद्दामा साथ दिनुपर्दा सबैभन्दा बढी बदनाम र आलोचित प्रधानमन्त्री केपी शर्मा ओली भएका छन् । एमालेलाई यसरी नै प्रयोग गरेर आफ्नो मुद्दालाई पार लगाउने रणनीतिमा कांग्रेस छ ।

यतिमात्रै होइन आफूले गृह लिएको कांग्रेस आफ्ना नेताहरु काण्डमै मुछिए पनि जोगाउन सफल भएको छ । सहकारी प्रकरणमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङलाई आफ्नै पार्टीका नेता गृहमन्त्री हुँदा फलिफाप भएको एक दृष्टान्त हो । यस्तै प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन असफल भए पनि परराष्ट्रमन्त्री राणा पार्टीगत रुपमा भने छिमेकसँगको सन्तुलन मिलाउन सफल मात्रै भएकी छैनन्, उनको उचाई पनि ह्वात्तै बढेको छ ।

उता स्वास्थ्यमन्त्री पौडेल स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा फड्को मारिरहेका छन् । आफ्नै नेतृत्वको सरकारमा कांग्रेसका मन्त्रीका कामबाट प्रधानमन्त्री ओली सन्तुष्ट रहँदा एमालेका मन्त्रीहरु भने गुमनाम जस्तो देखिएका छन् । कांग्रेससँग कुम जोडेर सदन र प्रतिपक्षलाई छल्दै ६ अध्यादेश जारी गरेपछि त्यसको प्रहार पनि उनै प्रधानमन्त्री ओलीमाथि भइरहेको छ । सरकार कसैगरी जोगाउनु पर्ने बाध्यतामा रहेका प्रधानमन्त्री ओलीलाई चिढ्याउँदै र कांग्रेस बोक्दै प्रतिपक्ष भने उनै ओलीमाथि प्रहार गरिरहेको छ । जसले गर्दा कांग्रेसले सत्ताको भोग गर्दै फाइदा मात्रै लिइरहेको छैन कि कम्युनिष्टहरुको भिडन्तमा समेत रमाइरहेको छ ।

कम्युनिष्ट पार्टीको टुटफुटको फाइदा पनि अहिले कांग्रेसलाई मिलिरहेको छ । कम्युनिष्ट एक भएको खण्डमा संसदीय अंकगणितको हिसाबले सत्तामा पुग्न कांग्रेसका लागि असम्भव नै छ । यही कारण कम्युनिष्ट एक भएको देख्न नचाहने कांग्रेसले उनीहरुबीचको भिडन्तको फाइदा उठाइरहेको छ । वैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपालाई तह लगाउन पनि अहिले एमालेलाई कांग्रेसले अस्त्र बनाएको छ । ओलीकै बलमा दुई पटकसम्म गृहको नेतृत्व सम्हालेका, छोरा समान मानिएका उनै लामिछानेलाई सिध्याउन अहिले ओली कांग्रेसको इसारामा चलेका छन् । एमाले–रास्वपाबीच दूरी बढाउन सफल भएको कांग्रेस एमालेकै बलमा रास्वपालाई ८४ सम्म कसरी हुन्छ, कमजोर बनाउन चाहन्छ भने जसको केही हिस्साको लाभ पनि लिन चाहन्छ ।

तर, सत्ता साझेदार नेकपा एमालेले भने कांग्रेससँगको गठबन्धनलाई राष्ट्रिय हितको विषयसँग जोडेर समीकरण बनेको तर्क गर्दै आएको छ । दलीय स्वार्थभन्दा पनि राष्ट्रिय हितका लागि कांग्रेससँग मिलेको र यसमा कसलाई कति नाफा, घाटा भयो भन्ने कुरा प्राथमिकतामा नपर्ने एमाले नेताहरुको टिप्पणी छ ।

सत्ता सहकार्यको झण्डै सात महिनामा कांग्रेसले देश र जनताका लागि खासै उपलब्धि दिन नसके पनि सिंगो पार्टीका लागि लाभैलाभ लिन सफल भएको छ । प्रधानमन्त्री ओलीलाई तर्साएरै र बोकेरै भए पनि एकपछि अर्को लाभ लिइरहेको कांग्रेसकै कारण एमाले भने झन कमजोर र बदनाम हुने अवस्थामा पुगेको छ ।।