Breaking

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरेकाछन् ।

आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन । गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो । अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

संयन्त्रमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु रहेकाछन् । कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो।

सरकारले यही माघ २४ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी गरेको थियो। तर, राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले गरेको प्रयास असफल भएपछि त्यो दिन दुवै सदनको सूचीबाट अध्यादेशलाई हटाइएको थियो।