अन्तर्राष्ट्रिय

बंगलादेशमा फेरि बबन्डर, हसिनाको घर नै डोजरले उडाए


आरक्षण कोटाविरुद्ध आन्दोलन गर्दै बंगलादेशको सत्ता उलटफेर गरेका आन्दोलनकारीहरु फेरि सडकमा उत्रिएका छन् । विद्यार्थी आन्दोलनपछि सत्ताच्युत भएकी पूर्वप्रधानमन्त्री शेख हसिना र उनको पार्टी अवामी लिगले सरकारविरुद्ध आन्दोलन गर्ने घोषणापछि बंगलादेश फेरि अशान्त बनेको हो ।

दक्षिण एसियाली मुलुक बंगलादेशमा फेरि विद्यार्थी आन्दोलन चर्किएको छ । बुधबार रातिदेखि राजधानी ढाकासहित मुख्य शहर क्षेत्र थप अस्तव्यस्त बनेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको विरोध मात्र भइरहेको छैन कि उनलाई फाँसी दे भन्दै नाराबाजी नै चलिरहेको छ । प्रदर्शनकारीहरुले बुलडोजर नै लगेर ढाकास्थित बङ्गलादेशका संस्थापक नेता एवं शेख हसिनाका पिता शेख मुजिबर रहमानको घर तोडफोडसँगै आगजनी गरेका छन् । आन्दोलनकारीले देशभर खोजी खोजी अवामी लिगका नेताहरुको घरमा तोडफोड गरिरहेका छन । शेख मुजिबर रहमानको घर र संग्रहालयमा घुसेर तोडफोड र आगजनी गरेका हुन् ।

अर्कोतिर बंगलादेश सरकारले सरकारको विरोध गर्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । सरकारको विरोध गरेको भन्दै सर्वसाधरणदेखि कलाकारहरुसम्म धमाधम प्रहरीको फन्दामा परिरहेका छन् । सरकारको विरोध गरेको भन्दै शुक्रवार बंगलादेशी अभिनेत्री सोहाना सबा पक्राउ परेकी छन् । यसअघि अभिनेत्री मेहर अफरोज पक्राउ परिसकेकी छन् । प्रदर्शनकारीहरुले उनको घरसमेत जलाइ दिएका छन् । पक्राउ परेका कलाकारहरुमाथि राजद्रोहको आरोप लगाइएको छ ।
फेरि किन चर्कियो प्रदर्शन ?

बंगलादेशमा लगातार १५ वर्ष शासन गरेकी पूर्वप्रधानमन्त्री शेख हसिना आरक्षणविरोधी आन्दोलन चर्केपछि गत अगस्ट ५ मा देश छोडेर भागेकी थिइन् । विद्यार्थी आन्दोलनपछि हसिनाले देश छाडेर भागेसँगै नोबेल शान्ति पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाइएको थियो । मोहम्मद युनुस नेतृत्वको सरकारले बंगलादेशमा अहिले शासन सत्ता चलाइरहेको छ । नयाँ सरकारले हसिनामाथि देशद्रोह, हत्या, अपहरणलगायत २२५ वटा अपराधमा मुद्दा चलाएको छ । उनको पासपोर्टसमेत रद्द गरिएको छ भने गिरफ्तारी वारन्टसमेत जारी गरिएको छ । तर भारतमा शरण लिइरहेकी हसिनाले मुलुक बाहिरै रहेर राजनीतिमा सक्रिय हुने संकेत गरेकी छन् ।

अवामी लिगले फेबु्रअरी १ देखि १८ सम्म अन्तरिम सरकारविरुद्ध देशव्यापी ¥याली र आम हड्तालको घोषणा गरेपछि त्यसको विरोधमा हसिना र अवामी लिगविरुद्ध आन्दोलन चर्किएको हो । २४ रिभोल्युसनरी स्टुडेन्ट– जनता नेतृत्वको प्रदर्शनकारीहरुले प्रर्दशन चर्काएको हो । आफू र आफ्नो दलविरुद्ध आन्दोलन सुरु भएपछि लगत्तै हसिनाले घर भत्काउन सकिन्छ तर इतिहास मेट्न नसकिने प्रतिक्रिया दिएकी छन् । हसिनाको यो प्रतिक्रियापछि आन्दोलन थप भड्किने चिन्ता बढेको छ । करिब ६ महिना शान्त रहेको बंगलादेश फेरि अशान्त हुने भय पैदा भएको छ । यो विषयलाई युनुस नेतृत्वको सरकारले कसरी सुल्झाउँछ ? बंगलादेशको राजनीतिक भविष्यलाई लिएर चिन्ता सुरु भएको छ ।