आज माघ १६ गते अर्थात् शहीद दिवस । देश र जनताको हित र अधिकारका लागि प्राणको आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ । यही अवसरमा आज पनि देशभर विभित्र कार्यक्रम गरी शहीद दिवस मनाइयो ।
प्रजातन्त्र स्थापना एवं पुनः स्थापना तथा विभिन्न कालखण्डमा प्राणको आहुति दिनेहरूको सम्झनामा सरकारले २००७ सालपछि हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउँदै आएको छ । निरङ्कुश राणा शासनविरुद्ध आवाज उठाउने चार सपुतहरूलाई मृत्युदण्ड दिएपछि विशेषतः उनीहरूकै सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासकहरूको शासनविरुद्ध सङ्घर्ष गर्ने क्रममा विक्रम संवत १९९७ माघ १० गते टेकुको पचली चौबाटोको रूखको हाँगामा शुक्रराज शास्त्रीलाई फाँसी दिइएको थियो । त्यसको तीनदिन पछि अर्थात् माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुण्ड्याइएको थियो । माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले शहादत प्राप्त गरेका थिए ।
उनीहरूलाई शोभा भगवती मन्दिर अघि गोली हानी मारिएको थियो । गङ्गालाल शहीद हुनेहरूमध्ये सबैभन्दा कान्छा २२ वर्षका मात्रै थिए । उनीहरूले तत्कालीन राणा शासन सत्तासँग गरेको सङ्घर्षमय जीवन र बलिदानको गाथा, प्रजातान्त्रिक आन्दोलनका अन्य योद्धाहरुको योगदानकोसमेत सम्झनामा प्रत्येक वर्ष माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था, शाह वंशीय तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरुमा आफ्नो जीवनको आहुति दिने सपुतहरुको योगदानको गाथा यस दिन स्मरण गरिन्छ ।
दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली तथा सरकारका मन्त्रीहरूले सुन्धारास्थित शहीद गेट पुगेर सम्मान अर्पण गरे । ओलीसहित राज्यका उच्च ओहोदामा रहेकाहरूले पुष्पहार तथा गुच्छा अर्पण गर्दै महान शहीदहरुप्रति सम्मान प्रकट गरेका हुन् । शहीद गेटपछि लेनचौरस्थित शहीद स्मृति पार्कमा प्रधानमन्त्रीले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । शहीदले देखाएको मार्गमा अविचलित रहने बताएका ओलीले देशको रक्षा, विकास र सुशासनका लागि यो सरकार अगुवाइ गर्न तत्पर रहेको बताए ।
अमर शहीदहरूको त्याग र बलिदानले नै आज नेपाली नागरिकले मानव अधिकार र स्वतन्त्रताको हक प्राप्त गरेका छन् । प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र स्थापनामा तिनै शहीदहरुको योगदान रहेको छ । शहीदहरूले भावी सन्ततीका लागि सुनौलो सपना देखेर दिएको बलिदानलाई सार्थक बनाउनु आजको आवश्यकता पनि हो ।
तर, शहीदहरूको सपनालाई पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व बोकेको राजनीतिक नेतृत्व नै शहीदको बलिदानबाट प्राप्त व्यवस्थाविरुद्धको प्रवृत्तिबाट मुक्त हुन सकिरहेका छैनन् । जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरु मै शासक प्रवृत्ति देखिनुले शहीदको बलिदानको अवमूल्यन भइरहेको टिप्पणी हुँदै आएको छ । शहीदहरुको बलिदानकै कारण १ सय ४ वर्ष लामो जहानियाँ राणा शासन देशबाट फालिए पनि राज्य सत्तामा पुगेका नेताहरुमा अझै त्यसको अवशेष देखिने गरेको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठको टिप्पणी छ ।
शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने वीरगञ्जदेखि ६ दिन पैदल हिँडेर काठमाडौं आइपुगेकी श्रेष्ठको तर्क छ ।
शहीदको योगदानको मूल्य र महत्वलाई सरकारले कति महसुस गर्न सक्यो, त्यसको लेखाजोखा हुन जरुरी छ । वर्षमा एक दिन शहीदको सम्झनामा दिवस मनाउँदैमा उनीहरुको बलिदानको सम्मान र कदर नहुने भन्दै शहीदले देखाएको मार्गमा हिँड्न सक्नु पर्ने आवाज उठ्दै आएको छ । शहीदको योगदानलाई मूल्याङ्कन गर्न भाषण र प्रतिबद्धता भन्दा मुलुकको विकास र समृद्धितर्फ सबैको ध्यान जान जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउँदै माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित गर्न नहुने आमनागरिकको जोड छ । यसप्रति राज्य सत्तामा रहेकाहरुले झनै गम्भीर भएर सोच्न आवश्यक छ । वर्षमा एक दिन शहीदहरूको शालिकमा पुष्पगुच्छा र माल्यार्पण गरेर सम्मान प्रकट गर्दैमा शहीदहरुको योगदानको कदर नहुने शहीद परिवारकै गुनासो छ । त्यसैले हिजोको शासन सत्ता र आजको शासन सत्तामा समानता होइन जनताले फरक महसुस गर्न पाउने अवस्थाको सिर्जना हुनुपर्दछ । अनि मात्रै शहीदप्रतिको वास्तविक सम्मान हुने थियो कि ?
प्रतिक्रिया