दक्षिण छिमेकी मुलुक भारतमा यतिखेर महाकुम्भ मेलाको महोत्सव चलिरहेको छ । त्यसमा पनि १४४ वर्षपछि जुरेको शास्त्रीय संयोगका कारण यो महाकुम्भ मेला विशेष रहेको छ । यसैबीच महाकुम्भ मेलामा सहभागी करोडौं भक्तजनको भिडका बीच भागदौड मच्चिदा ठूलो संख्यामाश्रद्धालुहरूको ज्यान गएको छ ।
विश्वको सबैभन्दा ठूलो हिन्दु धार्मिक मेला तथा स्नान महाकुम्भमा बुधबार बिहान करिब साढे एक बजे भागदौड मच्चिदा ठूलो मानवीय क्षति भएको छ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ महोत्सवमा सङ्गमको किनारमा भागदौडमा परि अहिलेसम्म ३५ जनाभन्दा बढीको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएकाछन् । २० जनाको शव परिवारलाई बुझाइसकेको जनाइएको छभने ७० जनाभन्दा बढी घाइते भएका छन् ।
तर, प्रशासनले भने दुर्घटना भएको १६ घण्टा बितिसक्दा पनि अझै मृत्यु र घाइते हुनेको संख्याबारे आधिकारिक जानकारी गराएको छैन ।दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगममा पुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ । दुर्घटनापछि संगम किनारामा एनएसजी कमाण्डोले जिम्मेवारी लिएको थियो । संगम नाक क्षेत्रमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।भीड बढ्न नदिन प्रयागराज छेउछाउका जिल्लाहरुमा भक्तजनलाई रोकिएको छ । त्यहाँ प्रशासनलाई सचेत गराइएको छ ।
भागदौड हुनुमा मुख्य २ कारण औँल्याइएको छ । बुधबार मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले प्रयागराजको सङ्गम तटमा रातिदेखि नै ठूलो भीड लागेको थियो । अमृतस्नानका कारणश्रद्धालुहरू बाक्लिदै गए पछि आगन्तुकलाई छेक्ने पुल बन्द भएको थियो । जसका कारण सङ्गममा करोडौंको भीड जम्मा भएपछि मानिस ब्यारिकेडमा नै अड्किएर फसेका थिए । भीड बढ्न थालेपछि एक्कासी भागदौडको हल्लाले दुर्घटनाको रुप लिएको थियो ।
सङ्गम नाकामा छुट्टै प्रवेश र निस्कने बाटो नहुँदा मानिसहरू जसरी आउँदै थिए, त्यही बाटो फर्किँदै थिए। यस्तो अवस्थामा एकअर्कासँग ठेलमठेल हुँदा स्थिति अप्रिय बन्न पुगेको हो ।
दुर्घटनापछि केही समय नुहाउने कार्य स्थगित गरिए पनि अहिले भने स्नानका लागि खुला गरिएको छ । हालसम्म पाँच करोडले अमृत स्नान गरिसकेको दाबी छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनतालाई संयम अपनाउन अपिल गरेका छन् ।
भक्तहरूले संगममा मात्र स्नान गर्ने सोच्न नहुने भन्दै उनले गङ्गा जताततै पवित्र भएको हुँदा आफू जहाँ छ त्यही किनारमा स्नान गर्न आग्रह गरेका छन् । कांग्रेस सांसद राहुल गान्धीले भिआइपी संस्कृति र सरकारी अव्यवस्थाका कारण भागदौड भएको आरोप लगाएका छन् । समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले महाकुम्भको व्यवस्थापन सेनालाई सुम्पिनु पर्ने तर्क गरेका छन् ।
प्रयागराजमा ४५ दिनसम्म चल्ने महाकुम्भ मेलामा भारतसँगै नेपाल, बङ्गलादेश, श्रीलंका म्यानमार, भूटान, अमेरिका लगायत विश्वभरबाट दर्शनार्थीहरूको घुइँचो लागिरहेको छ । १६ दिनमा २१ करोडभन्दा बढीले महाकुम्भ मेलाको दर्शन गरिसकेको दाबी छ । प्रशासनका अनुसार राति अबेरसम्म सङ्गमसहित ४४ घाटमा आठदेखि करिब १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।त्यसको एक दिनअघि अर्थात् मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । पूरै सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ गरिएको छ ।
प्रतिक्रिया