राजनीति

अफ्ठ्यारोमा गृहमन्त्री लेखक,प्रश्नै प्रश्नको घेरामा


शक्तिशाली सरकारको निरीह गृहमन्त्रीको छवि बनाएका रमेश लेखक प्रश्नहरुको घेरामा परेका छन् । कतिपय घटनाक्रमले उनको कार्यक्षमतामाथि नै प्रश्न उठ्दा उनी आफ्नो उपस्थिति देखाउनसमेत चुकिरहेका छन् । जुन कम हुनेभन्दा बारम्बार दोहोरिने अवस्था नै बन्दा के के हुन त उनीमाथि प्रश्न उठाइरहेको घटनाक्रम ?

दुई तिहाइको सरकारमा शक्तिशाली गृहमन्त्रालय सम्हालिरहेका रमेश लेखक एकपछि अर्को प्रश्नको घेरामा पर्न थालेका छन् । यसैपनि शेरबहादुर देउवाको आशा र इसारामा भविष्य बनाएको आक्षेप उनीमाथि रहँदा गृह जस्तो मन्त्रालय नै बारम्बार प्रश्नमा तानिरहेको छ । यसैका एक उदाहरण आशिका तामाङ पक्राउको विषयसमेत हो ।

अर्थात अभद्र व्यवहार कसुरमा पक्राउ परेकी तामाङमाथि राज्यले नै अभद्र व्यवहार गरेको भन्दै प्रश्न उठ्न थालेको हो ।सामाजिक सञ्जालमा सार्वजनिक आशिकाको तस्वीर हेर्दा प्रशासनमा लैजाँदा पनि जघन्य अपराधको अभियुक्त झै व्यवहारगरेको प्रष्ट हुन्छ । त्यस्तै सामान्य सार्वजनिक अपराधमा पक्राउ परेका व्यक्तिलाई अनुसन्धानको बहानामा ११ दिन हिरासतमा राखेको विषयसमेत प्रश्नको घेरामा पर्दा गृहमन्त्रीको लोकतान्त्रिकस्कुलिङ नै संकटमा परेको छ ।


जहाँ रास्वपाकी सांसद सोविता गौतमले त आईजीपीको जिब्रो थुत्नुपर्छ भन्दा केही नहुने तर प्रहरीलाई ‘हु आर यू’ भन्दा अभद्र व्यवहार हुने भन्दै कटाक्ष नै गर्न भ्याएकी छन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ्ले केही समयअघि दिएको विवादित अभिव्यक्तिमा उनले पाएको छुट र अहिले आशिकाले भोगिरहेको दुःखसँग सम्बन्धित यी प्रश्नले देशको हालत प्रष्ट पार्दा यो प्रश्नको एक भागीदार गृहमन्त्री नै हुन् ।

यता ताप्लेजुङको पाथीभरामा केवलकार निमार्णको विवादित विषयमासमेत गृहमन्त्रीर्को असफलता देखिएको छ । यही विवादले उत्पन्न झडपमा प्रहरीले चलाएको गोलीले ६ जना घाइते भएका छन् । जसले एउटा व्यापारीका लागि गोली नै चलाउनुपर्ने अवस्था किन आयो ?भन्ने प्रश्न पेचिलो बन्दाकिरातसमुदायमाथि राज्यको दादागिरीकै भाष्य निर्माण भइरहेको छ । त्यस्तै यो घटनामाप्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुखसमेत प्रश्नमा तानिँदा यसले सो क्षेत्रको माहोल अझ बिगार्दै लगेको छ ।

राज्यले गरेको दमनको विरोधमा पहिचान पक्षधर तथा केबुल कार निर्माण हुनु हुँदैन भन्नेहरु आन्दोलित बनेका छन् । मंगलबारदेखि ताप्लेजुङ जिल्लाका साथै पूर्वका विभिन्न राजमार्ग ठप्प पारिएको छ ।

जसले पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । यता सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई सरकारले झुटा मुद्दा लगाएर फसाउन खोजेको भन्दै माओवादी आन्दोलनमै उत्रिएको छ । सागरनाथ वन विकास परियोजना अन्तर्गतको वन क्षेत्रमा स्वीकृति नलिइ माछापोखरी निर्माण गरेको सरकारी आरोपमा जिल्ला वन कार्यालय सर्लाहीले मुद्दा चलाउने प्रक्रिया अगाडि बढाएपछि उनलाईफसाउन लगाइएको आरोप भन्दै माओवादी नेता कार्यकर्ताले आपत्ति जनाएका छन् । उनीहरुले मसाल जुलुस नै निकाल्दा गल्ती भए पक्राउ गर्न प्रहरीले किन सकिरहेको छैन ? भन्ने प्रश्नसमेत उठाएको छ । प्रदर्शनकै आधारमा कसैलाई छुट दिने अवस्था बनेको हो? भन्ने प्रश्न यसले उब्जाउँदा कानुनको पालना, सुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मा पाएको तालुक मन्त्रालय गृहको नेतृत्व नै अफ्ठ्यारो अवस्थामा पर्दै गएको छ ।

यी त प्रतिनिधि घटनामात्र हुन् । गत असोजमा अविरल वर्षापछि आएको बाढी पहिरोका बेला उद्धारकै विषयमासमेत गृहमन्त्रीमाथि प्रश्न उठेको थियो । राजधानीमै उद्धारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था आउँदा संसदीय समितिमा गृहमन्त्री लेखक लज्जित नै बनेका थिए । यसबाहेक रविविरुद्ध सहकारी ठगीको प्रमाण भएको बताउने उनले खै प्रमाण पेश गरेको ?भन्ने प्रश्न गर्नेहरुसमेत छन् । यसका साथै रविलाई बयानका लागि रातारात गरिएको अड्डासारको विषयमा होस् या सीसीटिभीबाट फोटो बाहिरिएको प्रकरणमा होस्, प्रहरीमाथि प्रश्न उठेकै थियो । यसको सिधा तार गृहमन्त्रीमै जोडिँदा कानुनका जानकार र शालीन मानिने रमेश लेखक शक्तिशाली सरकारमा स्थायी जागिर खाने मन्त्रीकै हैसियतमा खुम्चिएको आक्षेप भोगिरहेका छन् । उनको क्षमता र अनुभवले योभन्दा अब्बल काम गरेर देखाउँलान्, नागरिकले राज्यबाट धम्की र त्रसित हुनेभन्दा पनि शान्ति सुरक्षाको प्रत्याभूति थप मजबुत रुपमा पाउँलान्, भन्ने जनअपेक्षामा गृहमन्त्री लेखकले आशा जगाउन नसक्नु चाहिँ नेपाली नागरिकको दुर्भाग्य बन्न पुगेको छ ।