काठमाडौं—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले अलोकतान्त्रिक र निरङ्कुश शैलीमा अध्यादेश ल्याएको बताउँदै विपक्षी दलहरुले सामुहिक विरोध गर्ने बताएका छन् । आज समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संसदमा रहेको विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याउनु सरकारको स्वेच्छाचारी र निरङ्कुश कदम भएको आरोप लगाए । उनले सरकार प्रतिमनतिर गइरहेको बताउँदै यसका विरुद्ध विपक्षी दलहरु सामुहिक रुपमा सदनमा प्रश्तुत हुने समेत बताए ।
अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकारले भ्रष्टाचारीका संरक्षण गरेको र राजनीतिक विरोधीमाथि प्रतिशोध साँधेको आरोप समेत लगाए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताए । वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाई छ । उनले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताए।
प्रतिक्रिया