समाचार

न्युयोर्कमा ल्होसारलाई सरकारी मान्यता


सोनाम गेल्बु शेर्पा—न्यूयोर्कमा ल्होसारले सरकारी मान्यता पाएको छ । नेपाली हिमाली समुदायको प्रमुख चाड ल्होसार न्युयोर्क सिटीको अल्टरनेट साइड पार्किङमा छुट दिने चाडको रुपमा सूचिकृत भएको छ । यससँगै न्यूयोर्कमा यस वर्ष ल्होसार उल्लासमय हुने भएको छ । न्युयोर्कको सिटी काउन्सिलले लोसार पर्वको दिन बैकल्पिक साइड पार्किङ (अल्टरनेट साइड पार्किङ) नियम निलम्बन गर्दै छ । अबदेखि ल्होसारको पहिलो दिनमा न्युयोर्कबासीले सडकमा पार्क गरेको सवारी साधन सडक सफाईको समयमा हटाउनु पर्दैन ।

अल्टरनेट साइड पार्किङ नियमअनुसार नियमित सडक सफाईको समयमा सडकमा पार्क गरिएको गाडी हटाएर अन्यत्र लगेर पार्क गर्नुपर्ने प्रावधान छ । सिटी काउन्सिलको उक्त निर्णयपछि ल्होसारको दिनमा बाटोमा पार्क गरिएको सवारी साधन अर्को ठाउँ खोजेर पार्क गर्नुपर्ने झन्झट हुने छैन । सिटी काउन्सिल सदस्य जुली वनले दर्ता गरेको बिधेयक बिहीबार सिटी काउन्सिलबाट सर्वसम्मतिले पारित भएको हो । नेपाली समुदायले वनलाई आभार प्रकट गर्दै धन्यवाद दिएका छन् । सिटी काउन्सिलको बैठकपछि काउन्सिल सदस्य जुली वन र हिमाली समुदायले सिटी काउन्सिलको प्रांगणमा ऐतिहासिक विजयोत्सव ¥यालीको आयोजना गरिएको छ । जहाँ वनलाई भव्य स्वागत गरिएको छ ।

काउन्सिल सदस्य जुली वोनले नेपाली हिमाली समुदायसँग लोसार मनाउन पाउँदा र उनीहरूको सँस्कृति सम्मान गर्न पाउँदा गर्वको अनुभूति भएको बताए । कार्यक्रममा सिटी काउन्सिल यातायात समितिका अध्यक्ष सेलभिना ब्रुक्स पावर, भारतीय मूलका पहिलो काउन्सिल मेम्बर शेकर कृष्नन, काउन्सिल मेम्बर नार्सिस मर्सिडिस्, काउन्सिल मेम्बर, लिन्डा ली, लगायत नेपाली, तिब्बती र अन्य हिमाली समुदायका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । कार्यक्रममा दलाई लामा र तिब्बती निर्वासित सरकारको सन्देश पढेर सुनाइएको थियो । कार्यक्रममा हिमाली सिंह नाच र तिब्बती परम्परागत नामतर गाना प्रस्तुत गरिएको थियो । ल्होसार मनाउने समुदायका करिब २ सय सदस्यहरू कार्यक्रममा उपस्थित थिए । यस वर्षको ल्होसार फेब्रुअरी २८ का दिन परेको छ ।