Breaking

भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन करको दायरा नै बढाएको आरोपमा दुई जना पक्राउ


भाटभटेनी सुपरमार्केटलाई घाटामा पुर्‍याउन प्रणालीमा पहुँच पुर्‍याएर करको दायरा बढाइदिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

पक्राउ पर्नेमा पर्वत घर भई चितवन बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखा घर भई चितवन बस्ने २२ वर्षीय परिन पाण्डे छन्।

उनीहरू चितवनमा रहेको बिहादी बिजनेश म्यानेजमेण्टमा कार्यरत कर्मचारीहरू हुन्। उक्त कम्पनी लेखा परीक्षण गर्ने निजी फर्म हो।

सिआइबीले उनीहरूलाई शनिबार (माघ ५ गते) भरतपुर महानगरपालिका-३ बाट पक्राउ गरेको थियो।

उनीहरूमाथि सिआइबीले विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद ९ (कम्प्युटर सम्बन्धी) कसुर अन्तर्गत अनुसन्धान गरिरहेको एसपी सुधिरराज शाहीले जानकारी दिए।

पराजुली र पाण्डेले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्‍याएर विद्युतीय कसुर गरेको आरोप छ। तर अहिलेसम्म उनीहरूले ठगी गरेको खुलेको भने छैन।

यद्यपि भाटभटेनीले तिर्नुपर्ने करको रकम नै बढाएर घाटा पुर्‍याउन खोजिएको आरोप लागेको हो। किन त्यसो गरे भन्नेबारे भने सिआइबीले थप अनुसन्धान गरिरहेको जनाएको छ।