Breaking

महाभारत पर्वतशृंखलाको वनमा डढेलो अझै नियन्त्रणमा आउन सकेन


काठमडौं—काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृंखलाको सामुदायिक वनमा मंगलबार दिउँसोदेखि सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। काभ्रेको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडाबाट आगो फैलिएको हो । आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको छ । स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत आगो नियन्त्रण गर्न लागिरहेका छन्।प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना तथा प्रहरी टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताउनुभयो । जिल्लास्थित विपद् व्यवस्थापन समितिले डढेलो नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।