खेलकुद

सन्दीप लामिछाने संकटमा फसे, ओरालो यात्रामा क्यानको प्रहार


खेलाडीको हैसियतमा नेपाली क्रिकेटलाई विश्वमाझ चिनाएको नाम हो, सन्दीप लामिछाने । विश्व क्रिकेट जगत्मा आफ्नोसँगै देशकै नाम चम्काएका तिनै सन्दीप केही वर्षदेखि भने खराब नियतिबाट गुज्रिरहेका छन् ।

सन्दीप लामिछाने, यो नाम नेपालीसामू मात्रै नभएर क्रिकेटप्रति रूची राख्ने विश्वभरका प्रशंसक र दिग्गज हस्तीबीच पनि परिचित छ । नेपाली युवा ठिटो लामिछानेले विदेशका चर्चित लिगहरूमा गरेको प्रदर्शनले सबैलाई आकर्षित गरिसकेका छन् । आईपीएल, बिबिएल, सीपीएल, पीएसएल, ग्लोबल टी–२० लगायतका थुप्रै लिगमा आफ्नो खेल कौशल देखाएर देशको र आफ्नो नाम राखेका तिनै लामिछाने पछिल्लो समय निकै विवादित पात्रका रुपमा स्थापित हुँदै गएका छन् । सफलताको उच्च विन्दुमा पुगिसकेका लामिछानेले क्रमशः ओरालो यात्रा तय गरिरहेका छन् । त्यही ओरालो यात्राको शिलशिलाकै क्रममा लामिछाने नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट सङ्घ(क्यान)को कारबाहीमा परेका छन् ।

गत साता सम्पत्र जय ट्रफी एलिट कपका बेलामा अम्पायरले गरेको निर्णयबारे सामाजिक सञ्जालमा असन्तुष्टि पोखेपछि लामिछानेलाई क्यानले आचारसंहिता र म्याच अफिसियलहरूको रिपोर्टका आधारमा कारबाही गर्ने निर्णय गरेको हो । म्याच रेफ्री र प्राविधिक समितिको सिफारिसमा कारबाहीमा परेका लामिछानेले अब क्यानले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा एक खेल गुमाउने छन् ।

कारबाही गर्ने निर्णय एक साता अघि नै भए पनि सार्वजनिक भने मङ्गलबार मात्र भएको थियो । क्यानले ईमेलबाट कारबाहीको जानकारी गराएपछि सन्दीपले निराशापूर्ण अभिव्यक्ति दिएका छन् । जसलाई कतिपयले भने सन्यास लिन लागेको रुपमा बुझेका थिए । तर, वास्तविकता भने क्यान र सन्दीपबीचको असन्तुष्टि रहेको छ ।

क्यानको कारबाही र सन्दीपको स्टाटसले नेपाली क्रिकेट समर्थकहरू पनि अहिले विभाजित भएका छन् । पक्ष र विपक्षमा बाँडिएका बहुसंख्यक क्रिकेट प्रेमीहरूले भने सन्दीपको स्टाटस नेपाली क्रिकेटकै हितका लागि भएको भन्दै उनले उठान गरेको विषय सही भए पनि समय गलत भएको टिप्पणी गरेका छन् । कतिले भने सामाजिक सञ्जालमा लेख्नु उचित नभएको धारणा राखेका छन् । यी सबै विवादमा पर्नुभन्दा आफ्नो खेल सुधार गर्न सल्लाहसमेत दिइरहेका छन् ।

पछिल्लो समय विवाद र खेल प्रदर्शनमा आएको गिरावटका कारण उनले चुनौतीको सामना गरिरहेका छन् । विदेशी लिग खेल्न भ्याइनभ्याई हुने उनी अहिले विदेशी पे्रmन्चाइजको रोजाईमा पर्न छाडेका छन् । उनी विदेशी लिगमा बिक्न छोडेका छन् । साथै घरेलु लिग एनपीएलमा पनि सन्दीपले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । प्रतियोगिताको सात खेलमा ६ विकेट मात्रै लिएका सन्दीपका लागि पहिलो एनपीएल बिर्सन लायक रह्यो । बलात्कार जस्तो गम्भीर आरोपको दलदलबाट निस्किएका सन्दीप राष्ट्रिय टिममा महत्वपूर्ण हिस्सा हुन् । तर उनले खेलमा आशातित कमब्याक गर्न सकेका छैनन् भने झनझन विवादको घेराबन्दीमा पर्दै गएका छन् । साथै २४ वर्ष मात्रै पुग्दै गरेका लामिछानेले अहिले नै सन्यास लिने अवस्थासमेत नभएको भन्दै कतिपयले अप्रत्याशीत निर्णय नलिन आग्रह गरिरहेका छन् । यद्यपि, लामिछानेका लागि अहिले खराब समय चले पनि निकट भविष्यमा राम्रो हुने र त्यसका लागि उनी आफैँले आन्तरिक तयारी तथा आत्मविश्वास बढाउन जरुरी देखिन्छ ।