Breaking

सत्ता सम्हालेसँगै रफ्तारमा ट्रम्प, अरु शक्ति राष्ट्र नै त्रसित


अमेरिकामा डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै अन्य मुलुकहरूसँगको अमेरिकी सम्बन्धबारे चासो बढेको छ । राजनीतिकदेखि व्यापारिकसम्बन्धको समेत चासो बढ्दै गर्दा ट्रम्पले सुरुवाती चरणमा चालेका केही कदमहरूले त्यसको जवाफ दिएको छ ।

अमेरिकाको ४७ औं राष्ट्रपतिको पदभार सम्हालेका डोनाल्ड ट्रम्पले दोस्रो मुलुकसँगको राजनीतिक र व्यापारिक दुवै सम्बन्ध स्पष्ट पारेका छन् । आफ्ना छिमेकी र प्रतिष्पर्धी मुलुकमाथि शक्ति र करको डर देखाउँदै उनले दुबै सम्बन्धमा स्पष्ट रहेको सन्देश दिएका हुन् । दोस्रो पटक राष्ट्रपतिको चुनाव जितेर ह्वाईट हाउस छिरेका ट्रम्पले यो कार्यकाल अमेरिकी जनताका लागि मात्रै काम गर्ने बताउँदा अब नयाँ स्वर्णिम युग सुरु भएको बताएका थिए ।

जसअनुरुप नै उनले केही कदमहरू चालेका छन् । उनले अमेरिकाको दक्षिण सीमामा रहेको छिमेकी मुलुक मेक्सिकोसँग जोडिएको सीमानालाई आपत्कालिन घोषणा गर्दा यी दुई राष्ट्रकोबीच दरार उत्पन्न भएको छ । गैरकानूनी रूपमा अमेरिका प्रवेशमाथि कडाइ गर्न उक्त क्षेत्रमा सङ्कटकालको घोषणा गरेसँगै अमेरिकाले त्यहाँ आफ्नो सैनिक शक्ति पठाउने बाटो खुलेको छ ।

जसको जवाफमा मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबमले मेक्सिकोले सधैँ आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने बताएकी छन् । त्यस्तै, गल्फ अफ मेक्सिकोलाई ट्रम्पले फेरेर गल्फ अफ अमेरिका भनेर गरेको नयाँ सम्बोधन हाँस्यास्पद रहेको भन्दै राष्ट्रपति साइनबमले मेक्सिकोसँगै सारा विश्वले यसलाई स्वीकार गर्न नसक्ने काउण्टर गरेकी छन् ।
शपथ ग्रहणका क्रममा आफ्नो प्राथमिकतामा अमेरिका र अमेरिकी जनतामात्रै भएको ट्रम्पले अभिव्यक्ति दिएका थिए ।

आफ्ना देशका नागरिकलाई धनी बनाउन अबदेखि बाहिरका देशलाई अतिरिक्त महसुल र कर लगाउने नीति उनले लिएका छन् । अहिलेसम्म अन्य देशहरूलाई धनी बनाउन अमेरिकी जनतामाथि कर लगाउँथ्यो तर अब यसलाई परिवर्तन गरिने उनले बताएका छन् ।

ट्रम्पले चुनावी अभियानमा नै क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत र चीनबाट आउने सामानमा ६० प्रतिशत कर लगाउने उद्घोष गरेका थिए । सत्ता सम्हालेसँगै उनी त्यसैलाई कार्यान्वयन गर्न तर्फ जुटेका छन् । क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाउने तयारीमा रहेका ट्रम्प चीनबाट आउने सामानमा भने १० प्रतिशत कर बढाउने तयारीमा छन् । जुन निर्णय फेब्रुअरी १ अर्थात् लगभग १० दिन पछि लागू हुनेछ ।

क्यानडाले बाहिर पठाउने सामानको करिब ७५ प्रतिशत सामान अमेरिका निर्यात हुँदा ट्रम्पको यो कदमलाई लिएर आपत्ति जनाइसकेको छ । बाह्य व्यापारमा क्यानडा अमेरिकासँग निर्भर छ । अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा उच्च कर लगाउने धम्की दिएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्प सामु क्यानडा नझुक्ने बरु आर्थिक नोक्सानी बेहोर्न तयार हुने अभिव्यक्ति दिइसकेका छन् । क्यानडामाथि अतिरिक्त महसुल लगाउने निर्णयबाट पछि हट्न ट्रम्पलाई बाध्य पार्न उनी अमेरिकालाई आर्थिक क्षति पु¥याउन पनि तयार भएको बताएका छन् ।

सत्ता सम्हाले लगत्तै ट्रम्पले राष्ट्रियदेखि विदेशसम्मका अमेरिकी नीतिहरूमा धेरै ठुला परिवर्तन ल्याउँदा ब्रिक्स राष्ट्रहरू पनि उनको निशानामा परेका छन् । ब्रिक्सका सदस्य देशहरूले डलरबाट टाढिने र आफ्नो छुट्टै मुद्रा लागू गर्ने नीति जारी राखेमा अमेरिकासँगको व्यापारमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् । छिमेकी र प्रतिष्पर्धी राष्ट्रलाई पेलेरै जाने ट्रम्पले नीति लिएको देखिन्छ । विश्व स्वास्थ्य सङ्गठनदेखि पेरिस जलवायु सम्झौताबाट अलग्गिने निर्णयले पनि ट्रम्पका लागि अमेरिका मात्रै मुख्य प्राथमिकतामा परिरहेको स्पष्ट हुन्छ । यद्यपि, उनले गरेका यी एलौटी निर्णय कतिन्जेल टिक्छन् वा समयसापेक्ष परिणत हुन्छन् ? अहिले नै यसै भन्न सक्ने अवस्था छैन ।