कांग्रेस एमाले दरार बढेको चर्चाकाबीच हौसिएका विपक्षी अहिले आफैँ पेलिन थालेका छन् । कांग्रेसले बलियोसँग थापेको काँध र आफ्नो एजेण्डा स्थापित गराउन नसकेको अवस्थाले उनीहरु सत्ताविरुद्ध हाबी हुन नसकेका हुन् । बरु उनीहरुको घेराबन्दीविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रम्हास्त्र चलाँउदा आफैँ दवावमा पर्न थालेका छन् ।
एमाले कांग्रेसबीच बढ्दो दरारको चर्चाले घेराबन्दीमा उत्रिएकाहरु आफँै लाखापाखा लाग्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो साथ दिने शेरबहादुर देउवाको रणनीति र मुद्दा नै कमजोर बन्दा घेराबन्दी गर्नेहरु सफल हुन नसकेका हुन् । जसको सुरुवात नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । गिरिबन्धु टि स्टेट जग्गा प्रकरण उचाल्दै ओलीलाई प्रश्नमा तानेका उनले सहकारीको मुद्धामा रवि लामिछाने बोकेका थिए ।
यहिबीचमा कुलमान घिसिङको पक्षमा देखिएर सत्ताविरुद्ध प्रहार गरेका उनले बारम्बार यो सरकार धेरै नटिक्ने बताउँदै आएका थिए । यहिबीचमा ओलीले संविधान संशोधनका विषयमा दिएको अभिव्यक्ति र अध्यादेश जारी भएको अवस्थाले विपक्षी हौसिएका थिए ।
यसै पनि भूराजनीतिक दवावमा यो सरकार रहेको विश्लेषणकाबीच सत्तासहयात्रीसँगै बढेको दरारले प्रचण्ड खुसी हुनु स्वभाविक थियो । जहाँ शेरा दरबार प्रकरणका कारण गिरिबन्धुमा मुख टालिएका उनले अध्यादेशलाई अर्को मुद्धाका रुपमा प्रयोग गर्न खोजे । कांग्रेसको संस्थापन पक्षकै केहि नेताहरुले समेत यसमा प्रश्न उठाँउदा विपक्षीलाई एक ठाँउमा उभ्याउन प्रचण्ड सफल भए ।
जसले यो सरकारको स्वेच्छाचारी कदम भएको निष्कर्ष निकाल्यो भने माधवकुमार नेपाल, देउवालाई आफूले फकाउन सक्ने भन्दै प्रचण्डलाई विश्वास दिलाउन थालिसकेका थिए । तर माधवले पार्टी प्रवेशको संघारमा रहेका वामदेव गौतमलाई समेत रोक्न सकेनन् भने ओलीले यसैमा समेत शक्ति देखाए । यता, अध्यादेशमा घेराबन्दी गर्दा निजी क्षेत्रले स्वागत गर्यो । अर्थात प्रक्रियामाथिको प्रश्न अपेक्षित नतिजाको आशामाभित्रै हरायो ।
सरकारमा खटपट आएकै आशामा प्रचण्डले यो बीचमा समाजवादी मोर्चा समेत बलियो पारे । एकातर्फ मधेशवादी दलहरु मोर्चाबन्दी भएका बेला आफ्नो कदमले सरकारमाथि दवाव बढाउने उनको आशा देखिन्थ्यो । त्यस्तै यो शक्ती देखाउँदा कांग्रेसलाई सम्भावित समीकरणको आकलन गर्ने फाइदासमेत पुगेको थियो ।
तर कसैगरि पछि नहट्ने ओलीको अडानले देउवाले पालो पर्खिनमै बेस देखेभने उपेन्द्र यादवकै कारण समाजवादी मोर्चा र मधेशवादी मोर्चासम्म प्रभावित भए । प्रचण्डले पार्टी फुटाएका कारण रुष्ट उनले ओलीको प्रशंशा गर्दा सत्तारुढ नै भएर विपक्षी मोर्चा कस्ने सपनासमेत पुरा हुन सकेन । बरु मधेश सरकार नै हातबाट गुम्ने सक्ने खतरा उनले महसुस गर्दा सत्ता ढल्ने आशामा काठमाडौँ नछाडेका प्रचण्ड फेरि जिल्ला जिल्लामा पुग्ने अवस्थामा पुगे । त्यस्तै एजेण्डा स्थापित नभएपछि बहस भन्दा आक्रामक र निउखोज्न मुद्धाहरुमा केन्द्रीत माओवादी यसैबाट घेराबन्दीको रणनीतिमा लागेको छ ।
हुन त सत्तारुढ साना दलहरुलाई समेत पेलेर एमाले कांग्रेस अघि बढेका छन् । जहाँ ओलीमाथि प्रहार गर्ने दुर्गा प्रसाईं आफ्नै बोली भारी परेर सकिएका छन् भने रविलाई घाइते बाघका रुपमा प्रयोग गर्न प्रचण्डले सकेनन् । त्यस्तै रास्वपा स्वयम्प्रतिशोधको मुद्धा उठाए पनि सत्ताविरुद्ध बोल्न सक्ने स्थितीमा छैनन् । अर्थात ओलीको सत्ता नढलेसम्म आन्दोलन गर्न अदालतको ढोकाबाहिरबाट आह्वान गर्ने रवि उनैलाई फकाउने बाटोमा छन् । जसले तत्कालका लागि घेराबन्दी तोड्न कांग्रेस सफल भएको संकेत मिल्दा दुईमध्ये एकले हलचल नगरेसम्म विपक्षी हौसिनुमा तुक नभएको समेत छर्लङ्ग भएको छ ।
प्रतिक्रिया