Breaking

सुप्रिम सहकारी ठगी मुद्दा : रूपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि


काठमाडौँ – बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ।

जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन्।

सुरूमा सरकारी वकिलहरूले बहस गर्नेछन्। त्यसपछि जाहेरवाला सहकारी पीडित पक्षका वकिलले बहस गरेपछि प्रतिवादी पक्षका वकिलहरूको पालो आउँछ। थुनछेक बहसमा १२ जनाभन्दा बढी सरकारी वकिलहरूले बहस गर्ने तयारी छ। पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही पुगिसकेका छन्।

रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेलले बहस गर्नेछन्। उनी बुधबार नै भैरहवा आइपुगेका छन् भने नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायीले पनि बहस गर्नेछन्। रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।

सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए।