Breaking

दुई तिहाइ पुर्‍याएर संविधान संशोधन गर्दिन्छौं भन्नु गलत : शेखर कोइराला


काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नुहने बताएका छन् ।

विराटनगरस्थिति कोइराला निवासमा बुधबार पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस-एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।

उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’

उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । अहिले कांग्रेस(एमालेबीच अलिअलि छलफलमात्रै भएको भन्दै उनले यो सबैको माझमा जानुपर्ने, त्यतिकै नहुने बताए ।यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ । दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ,’ उनले भने, ‘कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुपर्‍यो नि त ।’

उनले संविधान संशोधनका बारेमा नागरिकले यो के हो के भइरहेको छ भनेर बोलिरहेको पनि बताए ।